अप्रमाणित पोस्टपछि जेनजी रेड फोर्सकी संयोजक तिमल्सिनासँग प्रहरीकाे सोधपुछ


काठमाडौं –  नेपाली कम्युनिष्ट पार्टी निकट जेनजी रेड फोर्सकी संयोजक स्मृति तिमल्सिनासँग प्रहरीले सोधपुछ गरेको छ। सामाजिक सञ्जालमा राखिएको सामग्रीबारे स्पष्ट पार्न उनलाई जिल्ला प्रहरी परिसर काठमाडौंले मंगलबार बोलाएको हो।

जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवनकुमार भट्टराईका अनुसार तिमल्सिनाले सामाजिक सञ्जालमा अप्रमाणित सूचना सार्वजनिक गरेपछि सोधपुछका लागि बोलाइएको हो। उनका अनुसार उक्त सामग्रीले सर्वसाधारणमा अफवाह फैलाउने र छिमेकी राष्ट्रसँगको सम्बन्धमा असर पार्ने सम्भावना देखिएको थियो।

‘उहाँले चीनले नाकाबन्दी गरेको भन्दै अप्रमाणित सूचना राख्नुभएको थियो। त्यस्तो सामग्रीले मित्र राष्ट्रसँगको सम्बन्धमा असर पर्न सक्छ भन्ने देखिएकाले हामीले उहाँलाई बोलाएर धारणा बुझ्यौं,’ एसपी भट्टराईले भने।

प्रहरीले तिमल्सिनालाई पक्राउ नगरी सोधपुछपछि सचेत गराएर छाडेको जनाएको छ। सोधपुछपछि उनले उक्त भिडियो सामाजिक सञ्जालबाट हटाइसकेको र घर फर्किसकेको प्रहरीले जानकारी दिएको छ।

उनले यसअघि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नवनिर्वाचित सांसदले होटलमा मदिरा पिएको देखिने नक्कली तस्बिर फैलाएकी थिइन् । होटल रोयल टुलिपमा पार्टीले आयोजना गरेको अभिमुखीकरण कार्यक्रममा सहभागी रास्वपाका सांसदको तस्बिरलाई तोडमोड गरी उनले अफवाह फैलाएकी थिइन् ।

प्रतिक्रिया