
कम्बोडियामा अवैध काममा लगाइएका १२ नेपालीको उद्धार
काठमाडौं – कम्बोडियामा अवैध काममा लगाइएका १२ नेपालीको उद्धार गरी नेपाल फर्काइएको छ । विभिन्न प्रलोभनमा कम्बोडिया पुगेर अवैध काम गरिरहेका १२ नेपालीलाई थाइल्यान्डको बैंककस्थित नेपाली दूतावासले स्वदेश फर्काएको हो ।
कम्बोडियामा अवैधरुपमा सञ्चालन गरिएका अनलाइन स्क्यामिङ् केन्द्रहरु, क्यासिनोलगायत अन्य गैरकानुनी काममा लगाइएका र बिनाभिसा त्यहाँ बसेकाहरुको उद्धार गरिएको दूतावासले जनाएको छ ।
उनीहरुलाई कम्बोडिया सरकारको सहयोगमा उद्धार गरी गैरआवाशीय नेपाली संघ, कम्बोडियाको सहजीकरणमा सोमबार नेपाल पठाइएको हो ।
यसअघि पनि कम्बोडियामा अलपत्र परेका धेरै नेपालीहरुलाई उद्धार गरी स्वदेश फिर्ता गरिएको छ । अझै पनि अलपत्र परेका वा कठिन परिस्थितिमा रहेका अन्य नेपालीहरूलाई नेपाल फर्काउने पहल भइरहेको दूतावासले जनाएको छ ।



कागजपत्र |
