
जुम्लामा विभेदजन्य अभिव्यक्ति दिने महिला पक्राउ
काठमाडौं- जुम्लामा जातीय विभेदको घटना सार्वजनिक भएको छ । सामाजिक सञ्जालमा भाइरल भएको भिडिओका आधारमा प्रहरीले एक महिलालाई नियन्त्रणमा लिएको छ ।
आइतबार सार्वजनिक भएको भिडिओमा एक महिलाले दलित समुदायका युवालाई अपमानजनक शब्द प्रयोग गर्दै गालीगलौज गरेको देखिन्छ । उनले “डुम त डुमै हुन्, किन नभन्ने ?” जस्ता विभेदजन्य अभिव्यक्ति दिएको भिडियोमा सुनिन्छ ।
उक्त भिडिओमा ती महिलाले ‘भैँसीको मासु खाने भएकाले’ आफूले होच्याउन पाउने दाबी गर्दै थप अपमानजनक अभिव्यक्ति दिएकी छन् । घटनास्थलमा रहेका अन्य व्यक्तिहरूले कुनै पनि जातलाई होच्याउन नपाइने भन्दै विरोध गरे पनि उनले चुनौतीपूर्ण शैलीमा प्रतिक्रिया दिएको देखिन्छ ।
भिडिओ सार्वजनिक भएसँगै सामाजिक सञ्जालमा व्यापक आलोचना भएपछि जिल्ला प्रहरी कार्यालय जुम्लाले ती महिलालाई नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा अन्दाजी ३० वर्षीया कविता बुढा रहेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी निरीक्षक निर्देश बरालका अनुसार पीडित पक्षबाट हालसम्म औपचारिक जाहेरी परेको छैन । “यो घटना गुठिचौर गाउँपालिका–३ मा भएको हो । भिडिओको आधारमा महिलालाई नियन्त्रणमा लिएका छौँ, अब पीडित पक्षबाट जाहेरी आएपछि थप कानुनी प्रक्रिया अघि बढ्छ,” उनले बताए ।



कागजपत्र |
