बिरामी सेवा गर्दै आएकी मेहता अब स्वास्थ्य मन्त्रालयको कमान्डर


काठमाडौं-  सेतो एप्रोन लगाएर बिरामीको सेवा गर्दै आएकी निशा मेहता अब स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नेतृत्वमा पुगेकी छन्। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद मेहताले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) नेतृत्वको मन्त्रिपरिषद्मा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको जिम्मेवारी पाएकी हुन्।

सुनसरीको इनरुवामा जन्मिएकी मेहता लामो समय स्वास्थ्य सेवामा सक्रिय रहँदै अस्पतालका वार्डमा बिरामीको प्रत्यक्ष उपचार तथा हेरचाहमा संलग्न थिइन्। उनले भारतको ग्वालियरस्थित विश्वविद्यालयबाट नर्सिङमा स्नातकोत्तर गरेकी छन्। बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानमा करिब तीन वर्ष क्लिनिकल नर्सका रूपमा काम गरेपछि उनी शिक्षण क्षेत्रमा प्रवेश गरिन्। विराटनगरस्थित विराट मेडिकल कलेजमा लेक्चररका रूपमा नर्सिङ विषय अध्यापन समेत गरिन्।

स्वास्थ्य सेवामा प्रत्यक्ष अनुभव सँगालेकी मेहताले अब नीतिगत तहबाट स्वास्थ्य प्रणाली सुधार्ने जिम्मेवारी पाएकी छिन्। उनले स्वास्थ्य नीति, ऐन तथा कार्यक्रमलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्दै सर्वसुलभ र पहुँचयुक्त स्वास्थ्य सेवा सुनिश्चित गर्ने प्रतिबद्धता व्यक्त गरेकी छन्।

२०७९ को निर्वाचनमा समानुपातिक सूचीमा परेकी उनी त्यसबेला सांसद बन्न सकेकी थिइनन्। तर निराश नभई पार्टी संगठनभित्र सक्रिय रहँदै आएकी उनी पछि केन्द्रीय सदस्यका रूपमा काम गरिन्। रास्वपा स्थापनाकालदेखि नै साधारण सदस्यका रूपमा आबद्ध रहेकी मेहता पछिल्ला वर्षहरूमा पार्टी गतिविधिमा निरन्तर सक्रिय रहिन्।

सांसद प्रमाणपत्र लिएको दिनसम्म पनि स्वास्थ्य सेवामै संलग्न रहेकी मेहता सामाजिक सेवामा समेत सक्रिय रहँदै आएकी छन्। नेपाल प्रहरी श्रीमती संघ, कोशी प्रदेशमा प्रशासन सचिवका रूपमा कार्य गर्दा उनले स्वास्थ्य शिविर सञ्चालन, महिला तथा बालबालिकासम्बन्धी कार्यक्रम तथा समुदायकेन्द्रित गतिविधिमा महत्वपूर्ण भूमिका निर्वाह गरेकी थिइन्।

उनका श्रीमान् डा. सरोज सिंह कोशी प्रदेश प्रहरी अस्पतालका प्रमुख तथा प्रहरी नायव उपरीक्षक (डीएसपी) हुन्। यसअघि मधेशी क्लस्टरबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएकी मेहताले मधेशी महिला, स्वास्थ्य सेवा सुधार तथा सामाजिक न्यायका विषयमा आवाज उठाउँदै आएकी छन्।

नेपालको स्वास्थ्य क्षेत्र दीर्घकालदेखि स्रोत, पहुँच र व्यवस्थापनका चुनौतीसँग जुध्दै आएको अवस्थामा मेहतासामु अवसर र चुनौती दुवै छन्। स्वास्थ्य बीमा कार्यक्रमको प्रभावकारी कार्यान्वयन, जनशक्ति पलायन रोकथाम, सरकारी तथा निजी अस्पतालमा सेवा गुणस्तर सुधार, तथा कुल बजेटको पर्याप्त हिस्सा स्वास्थ्य क्षेत्रमा विनियोजन गर्ने विषय प्रमुख चुनौतीका रूपमा रहेका छन्।

विशेषज्ञहरूले नीति निर्माण, वित्तीय व्यवस्थापन, डिजिटल प्रणाली, सुशासन तथा पारदर्शितामा सुधार भए मात्र नेपालको स्वास्थ्य प्रणाली सुदृढ र जनमुखी बन्न सक्ने बताएका छन्। स्वास्थ्य नीतिको मध्यावधि समीक्षा र परिमार्जनमार्फत प्रभावकारी कार्यान्वयन गर्ने अवसर पनि मेहतासँग रहेको छ।

प्रतिक्रिया