इनिशा विक हत्या प्रकरण अदालतमा प्रवेश गर्ने तयारीमा


सुर्खेत – १६ वर्षीया बालिका इनिशा विक हत्या प्रकरण अब अदालतमा प्रवेश गर्ने तयारीमा छ। दुई हप्ता लामो अनुसन्धानपछि प्रहरीले बुधबार सरकारी वकिल कार्यालयमा प्रतिवेदन बुझाएको थियो। सरकारी वकिल कार्यालयले अध्ययन गरेको प्रतिवेदन आइतबारसम्म जिल्ला अदालतमा पेश गरिने तयारी छ।

जिल्ला न्यायधीस कर्णबहादुर महतका अनुसार, प्रहरीको अनुसन्धान प्रतिवेदन अध्ययन गरिसकेपछि सरकारी वकिलले अभियोगपत्र तयार गरी अदालतमा पेश गर्नेछन्। विहीबारदेखि शनिबारसम्म कर्णाली प्रदेशमा सार्वजनिक विदा भएकाले प्रतिवेदन आइतबारमात्र पेश हुने भएको हो।

प्रहरी प्रतिवेदन अनुसार, इनिशाको प्रेमी भनिएका अनमोल गौलीसहित अन्य तीन जनालाई कर्तव्य ज्यान र जबरजस्तीकरणी सम्बन्धी मुद्दा चलाउने प्रस्ताव गरिएको छ। अनुसन्धानले सामूहिक बलात्कार भएको पुष्टि नगरेको छ। पोस्टमार्टम रिपोर्टमा पनि इनिशाको मृत्यु शारीरिक सम्पर्कपछि अत्यधिक रक्तश्रावका कारण भएको देखिएको छ।

फागुन २३ गते बिहान विद्यालयको प्रयोगात्मक क्रियाकलापमा जान घरबाट निस्किएकी इनिशा दुई घण्टापछि वीरेन्द्रनगर नजिकै सामुदायिक वनमा बेहोस अवस्थामा फेला परिन् र अस्पताल पुर्याउँदा मृत घोषित गरिइन्। परिवार र आफन्तले सामूहिक बलात्कारपछि हत्या भएको दाबी गर्दै अझै शव बुझ्न मानेका छैनन्।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका डिएसपी मोहनजंग बुढथापाका अनुसार, अनुसन्धानमा प्राप्त तथ्य प्रमाण र आरोपितको बयान अनुसार सामूहिक बलात्कारको पुष्टि भएन। मुख्य अभियुक्त अनमोल गौलीविरुद्ध जबरजस्तीकरणी र कर्तव्य ज्यान मुद्दा चलाउन आवश्यक देखिएको छ भने अन्य तीनजनाविरुद्ध घटनास्थलमा उपस्थित भएर पीडितलाई बचाउने प्रयास नगरेको आरोपमा कर्तव्य ज्यान मुद्दा दर्ता गर्न सिफारिस गरिएको छ।

अनुसन्धानमा वैज्ञानिक परीक्षण, मोबाइल भजाइनल स्वाब परीक्षण, टक्सिकोलोजिकल र बायोसेरोलोजिकल रिपोर्ट लगायतका प्रमाण संकलन गरिएको छ। मुख्य अभियुक्तले आफूसँग इनिशासँग सहमति अनुसार शारीरिक सम्पर्क भएको बयान दिएका छन्। सीसीटीभी फुटेजले पनि बिहान ६ बजे इनिशा र उनका प्रेमी मात्र घटनास्थलमा पुगेको देखाएको छ।

इनिशाको घटनामा देशभर प्रदर्शन भइरहेका छन्। परिवार र आफन्तले दोषीलाई कारवाही गर्न दबाब दिइरहेका छन्। कर्णाली प्रदेशसभाका सांसदहरूले पनि घटनामा संलग्नलाई कारवाही गर्न माग गरेका छन्।

प्रतिक्रिया