

प्रभावकारी बन्दै निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रम

गण्डकी – कास्की जिल्ला निर्वाचन क्षेत्र नं २ (क) निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रमअन्तर्गतका योजनाको निर्माणकार्यले तीव्रता पाएको छ । सो क्षेत्रका प्रदेशसभा सदस्य, प्राविधिक तथा उपभोक्ता समितिको सामूहिक प्रयासका कारण निर्माणकार्यले तीव्रता पाएको हो ।
गण्डकी प्रदेशका उपसभामुख सिर्जना शर्मा र प्रदेशसभा सदस्य कृष्णबहादुर थापाबाट संयुक्तरूपमा सञ्चालित २ करोडका विभिन्न २४ वटा योजनामध्ये ५० प्रतिशतको निर्माण सम्पन्न भइसकेको छ भने अन्य योजनाको निर्माण अन्तिम चरणमा पुगेको छ । पोखरा महानगरपालिकाका ७, १५, १७, २१ र ३३ गरी कूल पाँचवटा वडा रहेको उक्त निर्वाचन क्षेत्रअन्तर्गत सबैभन्दा बढी सडक निर्माणमा ८७ लाख, सिँचाइतर्फ २५ लाख, भवन निर्माणमा ३० लाख, उद्यान निर्माणमा १८ लाख र बाँकी विभिन्न विद्यालय एवं सामुदायिक भवनमा शौचालय निर्माण, सुरक्षाका लागि तारजालीलगायतका योजना छनोट गरी रकम विनियोजन गरिएको थियो ।
उपसभामुख शर्मा, प्रदेशसभा सदस्य थापा, स्थानीय जनप्रतिनिधि, सञ्चारकर्मीसहितको एक टोलीले उक्त निर्माणकार्यको स्थलगत निरीक्षण गरेको गरेको थियो । टोलीले पोखरा–७ स्थित सुन्दरमार्ग बाटो ढलान तथा ढल निर्माण, घारीपाटन बाटो निर्माण, गहते उद्यान तारबार, श्रीकृष्ण माविमा भौतिक निर्माण, पोखरा-१५ एसओएस बालग्राम बहुउद्देश्यीय भवन निर्माण, शिव मन्दिरबाठ होटल फूलबारी जाने बाटोको निरीक्षण गरेको हो ।
त्यसैगरी वडा नं १७ स्थित फेवाताल किनारास्थित ड्यामसाइड उद्यान फेवाताल छेउ तारबारसहित फुटट्र्याक, ढुङ्गेसाँघु सीतापाइला आमा समूह भवन, पोखरा–२१ र ३३ का प्राथमिक स्वास्थ्यचौकी कृष्ति, सङ्गमचोक महबारी ढलान बाटो, जिब्रेढुङ्गा र मालागिरि सामुदायिक भवनलगायत १३ वटा योजनाको स्थलगत निरीक्षण गरी विकास निर्माणका बारेमा जानकारी लिएको हो ।
निरीक्षणपश्चात उपसभामुख शर्माले निर्वाचन क्षेत्र पूर्वाधार कार्यक्रमको सानो रकमले विकास निर्माणमा स्थानीय बासिन्दालाई उत्साहित तुल्याएको धारणा राखे । टोल, छिमेकका आवश्यकता पहिचान गरी छनोट गरिएका योजना बढी उपयोगी एवं प्रभावकारी हुने उनको विश्वास छ । प्रदेशसभा सदस्य कृष्णबहादुर थापाले कार्यक्रमको २ करोडले स्थानीय सहभागितामा पाँच करोडभन्दा बढीको विकास निर्माण भइरहेको बताए ।

