
सरकारको सकारात्मक काममा साथ दिन्छौँ : हर्कराज साम्पाङ
काठमाडौं- श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज साम्पाङले राष्ट्रिय स्वतन्त्र पार्टी नेतृत्वको सरकारलाई सकारात्मक काममा सहयोग गर्ने तर गलत निर्णयमा कडा खबरदारी गर्ने बताएका छन्।
सिंहदरबारमा सांसद पदको शपथका लागि पुगेका साम्पाङले सञ्चारकर्मीसँग कुरा गर्दै आफूहरू प्रतिपक्षको भूमिकामा रहने स्पष्ट पारे। उनले जनताबाट सरकारलाई निगरानी गर्ने म्यान्डेट पाएको भन्दै राम्रा काममा साथ र कमजोरीमा विरोध गर्ने धारणा राखे।
‘हामी प्रतिपक्षमा बस्छौँ, सरकारलाई खबरदारी गर्ने जिम्मेवारी हाम्रो हो,’ उनले भने, ‘तर सकारात्मक काममा भने सहयोग गर्छौँ। आलोचना र विरोधबाट सरकारले सिक्नुपर्छ, हामी साथ दिन तयार छौँ।’
साम्पाङले राजनीतिमा लागिसकेपछि सर्वोच्च पदसम्म पुग्ने लक्ष्य राख्नु स्वाभाविक भएको पनि बताए। उनले चुनावअघि नै पार्टीले आफूलाई भावी प्रधानमन्त्रीका रूपमा प्रस्ताव गरेको स्मरण गराउँदै यस्तो आकांक्षा राख्नु अस्वाभाविक नभएको धारणा व्यक्त गरे।
‘राजनीति गर्नेले माथिल्लो पदमा पुग्ने लक्ष्य राख्नुपर्छ, यसलाई अन्यथा लिनु हुँदैन,’ उनले भने, ‘जनताको निर्णयलाई स्वीकार गर्दै अहिले हामी प्रतिपक्षमै बसेर भूमिका निर्वाह गर्छौँ।’



कागजपत्र |
