
कालीगण्डकी करिडोरको घुमारीघाटमा जिप दुर्घटना हुँदा ६ जना घाइते
काठमाडौं – नवलपुरको बुलिङटार गाउँपालिका–६ घुमरीघाटस्थित कालीगण्डकी करिडोर सडकखण्डमा जिप दुर्घटना हुँदा ६ जना घाइते भएका छन् ।
बुधबारराति नारायणगढबाट पाल्पाको रामपुरतर्फ जाँदै गरेको लुप्र०१–००१ ज ०३६६ नम्बरको जीप दुर्घटना भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा चालकसहित सात जना सवारमध्ये ६ जना घाइते भएका जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी, प्रहरी नायब उपरीक्षक अनिल पण्डितले जानकारी दिए । घाइतेहरूलाई प्रहरीले उद्धार गरी उपचारका लागि रकुवा स्वास्थ्य चौकी डेढगाउँ पठाएको छ ।
बुलिङटार–६ खजुरीकी २५ वर्षीया सपना कँडेल, तनहुँ घिरिङ–१ का २४ वर्षीय राजेश कुमाल, सोही ठाउँका २२ वर्षीय शीतल कुमाल, स्याङ्जा चापाकोट–९ की २८ वर्षीया अस्मिता देवकोटा, स्याङ्जा वालिङ–१० का २८ वर्षीय कृष्ण गैरे र पाल्पा रामपुर–२ सिताकुण्डकी १९ वर्षीया सलिना राना रहेको पण्डितले जानकारी दिए ।
चालक पाल्पा रामपुर नगरपालिका–२ का २९ वर्षीय ताराबहादुर नेपालीलाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ ।



कागजपत्र |
