
‘अवैधानिक गतिविधि’ भन्दै नेविसंघ कार्यकर्ताको आपत्ति, नेतृत्वसँग हस्तक्षेप माग
काठमाडौं- नेपाली कांग्रेस को भ्रातृ संस्था नेपाल विद्यार्थी संघ (नेविसंघ) का कार्यकर्ताहरूले पछिल्लो समय संगठनभित्र देखिएका गतिविधिप्रति गम्भीर चिन्ता व्यक्त गर्दै पार्टी नेतृत्वको ध्यानाकर्षण गराएका छन्।
आइतबार कांग्रेसको केन्द्रीय कार्यसमितिलाई ज्ञापनपत्र बुझाउँदै उनीहरूले संगठनको ऐतिहासिक गरिमा, आदर्श र विधानको रक्षा गर्न माग गरेका हुन्। ज्ञापनपत्रमा नेविसंघले नेपालको लोकतान्त्रिक आन्दोलनमा पुर्याएको योगदानको स्मरण गर्दै स्थापना कालदेखि नै कांग्रेसको सिद्धान्त र विचारलाई आत्मसात् गर्दै आएको उल्लेख गरिएको छ।
कार्यकर्ताहरूका अनुसार लोकतन्त्रका लागि विद्यार्थीहरूले गरेको त्याग र बलिदानबाट निर्माण भएको संगठनको छवि जोगाउनु अहिलेको प्रमुख चुनौती बनेको छ। उनीहरूले संगठनभित्र भइरहेका कतिपय गतिविधिलाई ‘अवैधानिक’ र ‘अनुशासनहीन’ भन्दै आपत्ति जनाएका छन्।
विशेषगरी, नेविसंघलाई पार्टीबाट अलग्याउने आशयका साथ सञ्चार माध्यममा भइरहेको प्रचारबाजीलाई संगठनविरुद्धको गतिविधि भएको उनीहरूको दाबी छ। “अवैधानिक प्रक्रियाका आधारमा नेविसंघलाई पार्टीबाट अलग्याउने भन्दै सञ्चार माध्यममार्फत गरिएको प्रचार गम्भीर अनुशासनहीनता हो,” ज्ञापनपत्रमा उल्लेख छ, “यस्ता गतिविधिले संगठनको हित गर्दैनन्।”
यसैगरी, २०८२ चैत ६ गते त्रिभुवन विश्वविद्यालय, कीर्तिपुरमा आयोजना गरिएको भनिएको बैठकको वैधानिकतामाथि पनि प्रश्न उठाइएको छ। उक्त बैठकमा विधानअनुसार आवश्यक गणपूरक संख्या (कोरम) नपुगेको दाबी गर्दै त्यसलाई मान्यता दिन नसकिने कार्यकर्ताहरूले बताएका छन्।
विधानविपरीतका यस्ता गतिविधिले संगठनलाई कमजोर बनाउने चेतावनी दिँदै उनीहरूले पार्टी नेतृत्वलाई यस विषयमा गम्भीर ध्यान दिन आग्रह गरेका छन्।



कागजपत्र |
