रूपन्देहीमा लुकाइएका ६ सय सिलिन्डर भेटिए


भैरहवा– रूपन्देही प्रशासनले उपभोक्ताबाट बढी गुनासो आउने क्षेत्रहरूमा ग्यास वितरण अनियमितता नियन्त्रणका लागि संयुक्त अनुगमन तीव्र पारेको छ। यस अनुगमनमा बुटवल उपमहानगरपालिका, तिलोत्तमा नगरपालिका र सैनामैना नगरपालिका क्षेत्रका ग्यास विक्रेता र सरोकारवाला निकायहरू सहभागी छन्।

श्रीनाथ पौडेलका अनुसार उपभोक्ताले सहज रूपमा खाना पकाउने ग्यास नपाएको गुनासो आएपछि सोमबारदेखि संयुक्त बजार अनुगमनलाई तीव्र बनाइएको हो। आइतबारयता उक्त क्षेत्रका साढे दुई दर्जन ग्यास बिक्रेतामाथि अनुगमन गरिएको छ।

अनुगमन टोलीमा उपभोक्ता हित संरक्षण मञ्च, स्थानीय उद्योग वाणिज्य संघ, व्यापार संगठन, व्यापार संघ, नगरपालिकाका प्रतिनिधि र सुरक्षाकर्मीहरू सहभागी थिए।

टोलीले पूर्व–पश्चिम राजमार्ग आसपासका क्षेत्रमा करिब एक दर्जन ग्यास डिलरले बढी मुनाफा कमाउन ग्यास सिलिन्डर लुकाएको पाएको छ।

अनुगमनमा सहभागी प्रदीपप्रसाद पन्थका अनुसार सैनामैना र बुटवल क्षेत्रका १७ वटा ग्यास डिलरमा अनुगमन गर्दा १५ वटामा लुकाइ–छिपाइ राखिएका करिब ६ सय ग्यास सिलिन्डर फेला परेका छन्।

विशेषगरी सैनामैना नगरपालिका, मुर्गियास्थित रानिबगियामा रहेको लाङ्घाली ग्यास सप्लायर्सले आधा सिलिन्डर ग्यास १ हजार रुपैयाँमा राखेर, प्रत्येक सिलिन्डरमा थप ३ सय रुपैयाँ असुलेको पाइएको छ। वास्तविक आधा सिलिन्डर मूल्य ९५५ रुपैयाँ हो।

प्रतिक्रिया