
गुटबन्दी भए रास्वपाको हालत कांग्रेस–एमालेभन्दा खराब हुन्छः रवि लामिछाने
काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीभित्र गुटबन्दी भए आफ्नै अवस्था पुराना दलभन्दा पनि कमजोर हुने चेतावनी दिएका छन्।
पार्टीका गैरनिर्वाचित सांसदहरूको अभिमुखीकरण कार्यक्रममा बोल्दै उनले गुट बनाएर नेपाली कांग्रेस र नेकपा एमाले जस्ता दललाई पराजित गर्न नसकिने स्पष्ट पारे।
उनले ‘घण्टी’ चिन्ह सबैको साझा भएको उल्लेख गर्दै मकेन्द्रित राजनीति त्यागेर देशकेन्द्रित सोच आवश्यक रहेको बताए। “मकेन्द्रितबाट देशकेन्द्रित राजनीति नगरे पुरानाभन्दा हाम्रो हालत खराब हुन्छ,” उनले भने।
लामिछानेले विदेशी प्रभाव वा स्वार्थलाई बहानाका रूपमा प्रयोग गर्न नहुने पनि बताए। “विदेशको चाल भयो भनेर उम्किन पाइँदैन,” उनले भने।
जनताले ठूलो आशा र अपेक्षासहित रास्वपालाई मत दिएको उल्लेख गर्दै उनले जिम्मेवार भएर काम गर्न आग्रह गरे। “जनताले यत्तिकै भोट दिएका होइनन्, हामीले अतिरिक्त आग्रह गरेका थियौँ, त्यसैले उनीहरूले आशा र उत्साहका साथ मत दिएका हुन्,” उनले भने।
उनले अहिलेको अवसरलाई सदुपयोग नगरे देशको भविष्य झन् चुनौतीपूर्ण बन्ने चेतावनी दिँदै पार्टीभित्र विविध पृष्ठभूमिका व्यक्तिहरू समेटिएको उल्लेख गरे। “रास्वपामा देशकै अनुहार छ। युवा, विद्यार्थी, महिला, कवि, कलाकार, प्रशासक सबै छन्। सबैले मिलेर अनुशासित रूपमा काम गरेमा मात्र सफलता सम्भव छ,” उनले जोड दिए।



कागजपत्र |
