
आफ्नै कम्पनीको ‘फेक रेस्क्यु’मा एमडी पक्राउ, पूर्वएआईजी विज्ञानराज शर्मामाथि उठ्यो गम्भीर प्रश्न
काठमाडौं – पर्यटक उद्धारका नाममा वर्षौंदेखि चलिरहेको ‘फेक रेस्क्यु’ अर्थात् नक्कली हवाइ उद्धार प्रकरण अहिले नेपालमा ठूलो घोटालाका रूपमा बाहिर आइरहेको छ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले विभिन्न ट्राभल, रेस्क्यु र हेलिकप्टर कम्पनीमाथि अनुसन्धान अघि बढाएपछि एकपछि अर्को पक्राउ परिरहेका छन्।
यही प्रकरणमा माउन्टेन हेलिकप्टर प्रा.लि. का म्यानेजिङ डाइरेक्टर राजेन्द्रबहादुर सिंह पनि पक्राउ परेका छन्। उनी विमान सेवा सञ्चालक संघका पूर्व उपाध्यक्षसमेत हुन्।
सोही दिन रोयल होलिडेज एडभेन्चर एण्ड ट्राभल कम्पनीका सञ्चालक सन्दीप तिवारीलाई पनि प्रहरीले नियन्त्रणमा लिएको थियो। तर, यस घटनाले अहिले एउटा गम्भीर प्रश्न उठाएको छ- कम्पनीका अध्यक्ष तथा पूर्व एआईजी विज्ञानराज शर्मा किन अनुसन्धानको दायराबाहिर छन्?
एमडी पक्राउ, तर अध्यक्षमाथि किन छैन सोधपुछ?
माउन्टेन हेलिकप्टर प्रा.लि. का अध्यक्ष स्वयं पूर्व प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) शर्मा हुन्। कम्पनीका व्यवस्थापकीय प्रमुख अर्थात् एमडी नै नक्कली रेस्क्यु प्रकरणमा पक्राउ पर्दा स्वाभाविक रूपमा कम्पनी नेतृत्व पनि अनुसन्धानमा तानिनुपर्ने हुन्छ। तर, अनुसन्धानमा संलग्न एक प्रहरी अधिकृतका अनुसार यस्तो भएको देखिँदैन। उनले भने, ‘एउटै कम्पनीको एमडी पक्राउ परेपछि अध्यक्षमाथि पनि कम्तीमा सोधपुछ त हुनुपर्छ। तर यहाँ शक्तिको आडमा अनुसन्धान नै रोकिएको जस्तो देखिन्छ।’
स्रोतका अनुसार कुनै पनि कम्पनीमा ठूलो निर्णय अध्यक्ष वा बोर्डको निर्देशनबिनै सम्भव हुँदैन। त्यसैले फेक रेस्क्यु जस्तो ठूलो आर्थिक गतिविधि अध्यक्षलाई जानकारी नहुने सम्भावना कम भएको अनुसन्धान अधिकारीहरूको भनाइ छ।
आयोगमा बसेका शर्मा नै विवादमा
रोचक के छ भने, गत भदौ २३–२४ को जेनजी आन्दोलन घटनाको छानबिन गर्न पूर्व न्यायाधीश गौरीबहादुर कार्कीको नेतृत्वमा बनेको आयोगका सदस्यमध्ये एक शर्मा पनि हुन्।
उक्त आयोगले करिब पाँच महिनाको अनुसन्धानपछि फागुन २४ गते प्रधानमन्त्रीलाई प्रतिवेदन बुझाएको छ। तर, स्रोतका अनुसार प्रतिवेदनमा केही प्रहरी अधिकृतमाथि व्यक्तिगत पूर्वाग्रहका आधारमा कारबाही सिफारिस गरिएको भन्दै विवाद समेत उठेको छ।
यही कारण अहिले धेरैले प्रश्न उठाउन थालेका छन्- ‘अरूलाई कारबाही सिफारिस गर्ने शर्मा आफ्नै कम्पनीको विवादमा किन मौन छन्?’
‘आफ्नो आङमा भैंसी नदेख्ने’ अवस्था?
प्रहरी वृत्तमै पनि अहिले यस्तो टिप्पणी सुनिन थालेको छ- आफ्नो कम्पनीमा भएको सम्भावित अनियमितता नदेख्ने तर अरूलाई कारबाही सिफारिस गर्ने प्रवृत्ति देखिएको छ।
एक पूर्व सुरक्षा अधिकारी भन्छन्, ‘न्याय र पारदर्शिताको कुरा गर्ने व्यक्ति आफ्नै कम्पनीको विवादमा मौन बस्दा प्रश्न उठ्नु स्वाभाविक हो।’
अनुसन्धानमा संलग्न स्रोतका अनुसार अहिलेसम्म सिआइबीले शर्मासँग सामान्य सोधपुछ समेत गर्न सकेको छैन। राजनीतिक पहुँच र शक्ति प्रयोग गरेर उनले आफूलाई अनुसन्धानबाट जोगाइरहेको त होइनन्? प्रश्न उठ्न थालेको छ। कम्पनीका एमडी पक्राउ परिसक्दा पनि अध्यक्ष अनुसन्धानबाहिर रहनु संयोग मात्र हो कि शक्तिको प्रभाव?
अर्बौँको खेल : फेक रेस्क्यु कसरी चल्थ्यो
नेपालमा विदेशी पर्यटकलाई सामान्य बिरामी हुँदा वा नहुँदा पनि हेलिकप्टर रेस्क्यु गराइदिने, अस्पतालमा भर्ना गराउने र त्यसपछि अन्तर्राष्ट्रिय बीमा कम्पनीबाट ठूलो रकम असुल्ने गिरोह लामो समयदेखि सक्रिय रहेको अनुसन्धानले देखाएको छ।
यसरी आवश्यक नभएको अवस्थामा हेलिकप्टर चार्टर गर्ने, एउटै उडानलाई धेरै पटकको रेस्क्यु देखाउने, अस्पतालबाट अस्वाभाविक बिल बनाउनेजस्ता तरिकाबाट करोडौँ डलर बराबरको बीमा दाबी गरिएको पाइएको छ।
सिआइबीका अनुसार यस्तो गतिविधिमा ट्राभल कम्पनी, हेलिकप्टर कम्पनी, अस्पताल र एजेन्टहरूको मिलेमतो हुने गरेको देखिएको छ।



कागजपत्र |
