सुर्खेतमा सिकार खेल्न गएका ६ जना ९ दिनदेखि सम्पर्कविहीन


सुर्खेत –  सुर्खेतका ६ जना पुरुष बर्दिया राष्ट्रिय निकुञ्जमा सिकार खेल्न गएका ९ दिनदेखि सम्पर्कविहीन छन्।

प्रहरीका अनुसार सुर्खेत बराहताल गाउँपालिका-१ का रेशम समसेली (२५), रविलाल दमाई (४१), रामबहादुर घर्ती (३४), सुनिल समसेली (३०), टोपबहादुर खत्री (३३) र सुर्खेतको लेकवेशी नगरपालिका-८ घर भई हाल बर्दिया बस्ने दुर्गाबहादुर सिजाली (४५) २३ फागुनदेखि सम्पर्कविहीन छन्।

उनीहरू २३ फागुनमा घरदेखि करिब १७ किलोमिटर दक्षिणतर्फ रहेको बर्दिया राष्ट्रिय निकुञ्जतर्फ सिकार खेल्न गएको बताइएको छ। तर अहिलेसम्म फिर्ता नभएकाले बराहताल गाउँपालिका-२ का आसे महतराले सोमबार प्रहरीलाई खोजीकार्यका लागि जानकारी दिएका छन्।

प्रहरीका अनुसार बेपत्ता व्यक्तिहरूको खोजी कार्यको जानकारी दिने व्यक्ति आसे महतराले टोपबहादुर खत्रीका भेनाजु हुन्।

प्रतिक्रिया