
सुदूरपश्चिमका मुख्यमन्त्रीमाथि घुस आरोप लगाउने वन अधिकृत पक्राउ
धनगढी- धनगढी मा सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्रीमाथि घुस मागेको आरोप लगाउने वरिष्ठ डिभिजन वन अधिकृत पक्राउ परेका छन्।
प्रहरीले वरिष्ठ डिभिजन वन अधिकृत कृष्णदत्त भट्ट लाई उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय परिसरबाट पक्राउ गरेको हो।
जिल्ला प्रहरी कार्यालय कैलाली का प्रवक्ता योगेन्द्र तिमिल्सिना (डीएसपी) ले भट्ट पक्राउ परेको पुष्टि गरेका छन्। उनका अनुसार विद्युतीय अपराधसम्बन्धी उजुरीका आधारमा उनलाई नियन्त्रणमा लिइएको हो।
मुख्यमन्त्री कमलबहादुर शाहका स्वकीय सचिव प्रयागराज खनालले भट्टविरुद्ध विद्युतीय अपराधसम्बन्धी जाहेरी दर्ता गराएका थिए। सोही जाहेरीका आधारमा प्रहरीले उनलाई पक्राउ गरेको जनाएको छ।
प्रहरीका अनुसार पक्राउ परेका भट्टलाई हाल जिल्ला प्रहरी कार्यालय कैलाली को हिरासतमा राखिएको छ।
यसअघि मुख्यमन्त्रीमाथि घुस मागेको आरोप सार्वजनिक भएपछि सुदूरपश्चिम प्रदेश उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय ले भट्टसँग स्पष्टीकरण मागेको थियो। स्पष्टीकरण बुझाउन मन्त्रालय पुगेका बेला प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो।



कागजपत्र |
