
इरानको आक्रमणमा परी मृत्यु भएका दिवस श्रेष्ठको शव परिवारलाई हस्तान्तरण
काठमाडौं– इरानको आक्रमणमा परी युनाइटेड अरब इमिरेट्स (यूएई)मा मृत्यु भएका गोरखाका २९ वर्षीय दिवस श्रेष्ठको शव परिवारलाई हस्तान्तरण गरिएको छ। बुधबार परराष्ट्र मन्त्रालयले आयोजित पत्रकार सम्मेलनमा यो जानकारी दिइएको हो।
परराष्ट्र मन्त्रालयको मध्य एसिया, पश्चिम एसिया र अफ्रिका महाशाखा प्रमुख रामकाजी खड्काले जानकारी दिँदै भने, “इरानको आक्रमणमा परी यूएईमा केही दिनअघि गोरखाका एक युवकको मृत्यु भएको थियो। उहाँको शव नेपाल ल्याएर परिवारलाई बुझाइसकिएको छ।”
इरानको आक्रमणमा हालसम्म यूएईमा एक जनाको मृत्यु र १५ जना घाइते भएका छन्। घाइतेमध्ये १४ जनाले उपचारपछि फर्किसकेका छन् भने एक नेपाली अझै उपचाररत रहेको महाशाखा प्रमुखले बताए।
मध्यपूर्व तथा खाडी क्षेत्रमा रहेका नेपाली नियोगहरूले त्यहाँ रहेका नेपालीको उद्धारका लागि सहायता माग गरेका छन्। महाशाखा प्रमुख खड्काका अनुसार, नियोगहरूले प्रस्ताव पठाएपछि त्यसलाई मन्त्रिपरिषद्मा विचारका लागि पठाइएको छ। उनले थपे, “मध्यपूर्व तथा खाडी क्षेत्रमा रहेका सबै नेपाली नियोगहरू खुला छन् र आफ्नो काममा सक्रिय छन्।”



कागजपत्र |
