मुकेश चौरसिया हत्या: थप एक अभियुक्त प्रहरी नियन्त्रणमा


पर्सा– नेकपाका पर्साका स्थानीय नेता मुकेश चौरसिया हत्या अभियोगमा प्रहरीले निरञ्जन तिवारीलाई नियन्त्रणमा लिएको छ ।

३४ वर्षीय चौरसिया हत्यामा संलग्न रहेको आरोपमा विन्दवासिनी गाउँपालिका–४ मधवलका ३२ वर्षीय उत्तम उपनामले चिनिने तिवारीलाई पक्राउ गरिएको पर्सा प्रहरीले जनाएको छ । पीडित परिवारले दिएको जाहेरीमा चौरसियालाई बाँसको भाटा प्रहार गर्नेमा तिवारीको पनि नाम थियो ।

नेकपाका दुई पक्षबीच भएको झडपमा चौरसिया घाइते भएलगत्तै तिवारी फरार थिए । वीरगञ्ज महानगरपालिका–१६ बाट नियन्त्रणमा लिएर तिवारीमाथि अनुसन्धान थालिएको हो ।

गत कात्तिक ६ गते विन्दवासिनी वडा नम्बर ५ प्रसौनी गाउँमा पार्टी प्रवेश गरेका कार्यकर्तालाई सपथ खुवाउने कार्यक्रममा नेकपाका दुई पक्षबीच झडप हुँदा चौरसिया घाइते भएका थिए । चौरसिया पूर्वमाओवादी हुन् ।

पीडित पक्षको जाहेरी लिन नमानेपछि सरकारी वकिल कार्यालयबाट १२ जनाविरूद्ध जाहेरी दर्ता भएको थियो ।

प्रतिक्रिया