नेपाल–भारत सीमा सुरक्षा बलबीच समन्वयात्मक बैठक, निर्वाचन सुरक्षाका विषयमा छलफल


महेन्द्रनगर-  सशस्त्र प्रहरी बल नेपाल र भारतीय सशस्त्र सीमा बलका डिआईजी तहका समकक्षीहरूबीच समन्वयात्मक बैठक उत्तराखण्डको चम्पावतमा सम्पन्न भएको छ।

बैठकमा आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचनको समयमा सीमा क्षेत्रमा हुन सक्ने अवैध घुसपैठ, चोरी–निकासी तथा लागुऔषध ओसारपसार नियन्त्रणबारे छलफल भएको सशस्त्र प्रहरी बलले जनाएको छ। साथै निर्वाचन विरोधी तत्वहरूको अवैध गतिविधि रोक्न र मौन अवधि दौरान हुने सीमा बन्दलाई प्रभावकारी बनाउने विषयमा पनि छलफल भएको थियो।

सीमा क्षेत्रमा हुन सक्ने गैरकानुनी गतिविधिको निगरानी, सूचना आदानप्रदान र पूर्ण नियन्त्रणका उपायहरूबारे बैठकमा निर्णय गरिएको छ। निर्वाचनका समयमा सम्भावित सुरक्षा चुनौतीहरूलाई सम्बोधन गर्न संयुक्त र समानान्तर सीमा गस्तीलाई सशक्त बनाउने र सुरक्षा व्यवस्थालाई चुस्त र दुरुस्त राख्ने विषयमा समेत छलफल भएको छ।

त्यसैगरी विपद व्यवस्थापनको सन्दर्भमा समन्वय गर्दै विभिन्न प्रकारका विपद सिमुलेशन अभ्यास सञ्चालन गर्ने विषयमा पनि छलफल भएको सशस्त्र प्रहरी स्रोतले जानकारी दिएको छ।

बैठकमा नेपालबाट सशस्त्र प्रहरी बल, नं. ७ वैद्यनाथ वाहिनी मुख्यालय अत्तरियाका निमित्त वाहिनिपति सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक दिग विजय सुवेदी नेतृत्वको प्रतिनिधि मण्डल सहभागी भएको थियो। भारतबाट भारतीय सीमा सुरक्षा बल सेक्टर हेडक्वाटर अल्मोरा र पिलिभितका डिआईजहरू सुधान्सु नौटियाल र अनिल कुमार शर्मा, साथै सुदूरपश्चिमसँग सीमा क्षेत्रमा कार्यरत सबै रेजिमेन्ट प्रमुखहरूको उपस्थिति रहेको थियो। सशस्त्र प्रहरी बलका गणपति र अन्य उपरीक्षकहरूले पनि बैठकमा सहभागिता जनाएका थिए।

प्रतिक्रिया