अष्ट्रेलिया अध्ययनरत किशोरीको नाममा रकम उठाएर ठगी


झापा –  ठगी आरोपमा झापामा एक युवक पक्राउ परेका छन्। प्रहरीका अनुसार बिर्तामोड निवासी तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का स्थानीय नेता बलराम कार्कीका २४ वर्षीय छोरा विभुतजंग कार्कीलाई मंगलबार साँझ मेचीनगरस्थित एक सुधारगृहबाट नियन्त्रणमा लिइएको हो।

विभुतजंगविरुद्ध अर्जुनधारा नगरपालिका–११ का ४७ वर्षीय युवराज गिरीले इलाका प्रहरी कार्यालय बिर्तामोडमा ठगीसम्बन्धी जाहेरी दर्ता गराएका थिए।

जाहेरीका अनुसार गिरीका छोरा अर्पण गिरीलाई अष्ट्रेलियामा अध्ययनरत एक किशोरीसँग सम्पर्क गराइदिने र विवाहसमेत गराइदिने शर्तमा कलेज खर्चका लागि भन्दै विभुतजंगले ३ लाख १५ हजार रुपैयाँ माग गरेका थिए।

प्रहरी अनुसन्धानबाट किशोरीको नाममा पटक–पटक रकम मगाई उक्त पैसा विभुतजंगले आफ्नै प्रयोजनमा खर्च गरेको खुलेको छ। प्रहरीका अनुसार उनीविरुद्ध गत मंसिर महिनामै ठगी मुद्दा दर्ता भइसकेको थियो।

पक्राउ पुर्जी जारी भएको करिब तीन महिनापछि मंगलबार साँझ उनलाई प्रहरीले पक्राउ गरेको जनाएको छ। थप अनुसन्धान तथा कानुनी कारबाहीको प्रक्रिया अघि बढाइएको प्रहरीले जानकारी दिएको छ।

प्रतिक्रिया