
हुम्ला, मुगु र डोल्पामा हवाई साधनमार्फत निर्वाचन सामग्री ढुवानी
काठमाडौं– आगामी निर्वाचनको तयारीस्वरूप नेपाली सेनाले देशभर निर्वाचन सामग्री ढुवानीलाई तीव्र बनाएको छ। हालसम्म ४३ जिल्लामा निर्वाचन सामग्री पुर्याइसकिएको नेपाली सेनाले जनाएको छ।
निर्वाचन पूर्वका तयारी अन्तर्गत सेनाले मतपत्र, मतपेटिका, मसीका मार्कर, स्वस्तिक छाप, स्टिकर, रंगीन मतदाता नामावलीलगायतका सामग्री ढुवानी गरिरहेको छ। नेपाली सेनाका प्रवक्ता तथा सहायक रथी राजाराम बस्नेतका अनुसार बाँकी जिल्लाहरूमा पनि सामग्री पठाउने काम जारी छ। उनका अनुसार हाल १२ जिल्लामा निर्वाचन सामग्री ढुवानी भइरहेको छ भने त्यसपछि बाँकी रहेका २२ जिल्लामा सामग्री पुर्याइनेछ।
तीन हिमाली जिल्लामा भने नेपाली सेनाले हवाई साधनमार्फत निर्वाचन सामग्री ढुवानी गरेको छ। अहिलेसम्म हुम्ला, मुगु र डोल्पामा हवाई माध्यम प्रयोग गरी सामग्री पुर्याइएको प्रवक्ता बस्नेतले जानकारी दिए।
डोल्पामा आइतबार मात्रै नेपाली सेनाको स्काई ट्रकमार्फत निर्वाचन सामग्री ढुवानी गरिएको हो। अब मनाङ र मुस्ताङमा पनि हवाई साधन प्रयोग गरी निर्वाचन सामग्री लैजाने तयारी भइरहेको नेपाली सेनाले जनाएको छ।



कागजपत्र |
