
म्याग्दीमा फरक चुनावी दृश्य : उम्मेदवारलाई आर्थिक सहयोगदेखि विपक्षीलाई सम्मानसम्म
म्याग्दी- प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रचारप्रसारसँगै म्याग्दी जिल्लामा यसपटक चुनावी गतिविधिले फरक–फरक र अनौठा दृश्यहरू देखाएका छन्। प्रचारका लागि गाउँ पुगेका उम्मेदवारलाई स्थानीयवासीले आर्थिक सहयोग गर्नु, एउटै मञ्चबाट फरक दलका उम्मेदवारले मत माग्नु, तथा चुनावी प्रतिबद्धता पूरा गरेकामा विपक्षी दलका जनप्रतिनिधिको नेतृत्वमा पूर्वसांसदलाई सम्मान गर्नुजस्ता दृश्यहरूले चुनावी माहोललाई थप चासोको विषय बनाएको छ।
अनौपचारिक शैलीमा टोलटोलमा पुगेर चुनाव प्रचार गरिरहेका स्वतन्त्र उम्मेदवार डा. महावीर पुनलाई विभिन्न स्थानमा आमा समूह र स्थानीयवासीले स्वस्फूर्त रूपमा आर्थिक सहयोग गरिरहेका छन्। अन्तरिम सरकारका शिक्षा, विज्ञान तथा प्रविधिमन्त्रीबाट राजीनामा दिएर पुख्र्यौली जिल्ला म्याग्दीबाट प्रतिनिधिसभा सदस्यको चुनावी प्रतिस्पर्धामा उत्रिएका पुनलाई अन्नपूर्ण गाउँपालिका–८ नागी, मालिका गाउँपालिका–५ पन्थोक, ४ च्युरीबोटलगायत स्थानमा मतदाताले खुलेर सहयोग गरेका छन्।
धवलागिरि गाउँपालिका–६ मराङमा आयोजित चुनावी भेटघाटका क्रममा पुनले अहिलेसम्म करिब १५ लाख रुपैयाँ सहयोग प्राप्त भएको जानकारी दिँदै चुनावपछि प्राप्त सहयोग रकमको विवरण सार्वजनिक गर्ने बताएका छन्। “सामान्यतया चुनाव जित्न उम्मेदवारले मतदातालाई पैसा बाँडेको चर्चा हुन्छ, तर यहाँ उल्टै मतदाताले मलाई सहयोग गरिरहेका छन्,” उनले भने।
यस्तै, केही दिनअघि अन्नपूर्ण गाउँपालिका–१ दोवामा फरक–फरक दलका दुई जना उम्मेदवारले एउटै मञ्चबाट मत मागेको दृश्य देखिएको थियो। सोही स्थानमा शनिबार चुनावी प्रतिबद्धता पूरा गरेको भन्दै नेकपा (एमाले)बाट निर्वाचित वडाध्यक्षको नेतृत्वमा स्थानीयवासीले तत्कालीन नेकपा (माओवादी केन्द्र)बाट निर्वाचित गण्डकी प्रदेशका पूर्वसांसद विनोद केसीलाई सम्मान गरेका छन्।
गत माघ २७ गते दोवामा एमालेका उम्मेदवार हरिकृष्ण श्रेष्ठ र नेकपा माओवादीका क्षेत्रबहादुर घिमिरे (विप्लप)ले संयुक्त रूपमा मतदाता भेटघाट कार्यक्रम गरेका थिए। शनिबार सोही ठाउँमा नेकपाका उम्मेदवार अर्जुन थापाको चुनाव प्रचारका लागि पुगेका २०७४ सालमा म्याग्दी १(क) बाट निर्वाचित प्रदेश सांसद केसीलाई एमालेबाट निर्वाचित वडाध्यक्ष दिलीप गर्बुजाको नेतृत्वमा सम्मान गरिएको हो।
पूर्वसांसद केसीले २०७४ सालको निर्वाचनका क्रममा दोवामा ‘एक घर, एक धारा’सहितको खानेपानी सुविधा उपलब्ध गराउने प्रतिबद्धता जनाएका थिए। आर्थिक वर्ष २०७५/७६ देखि प्रदेश सरकारमार्फत सुरु भई करिब पाँच करोड रुपैयाँ लगानीमा गत वर्ष सम्पन्न दोवा खानेपानी योजनाबाट हाल ४२२ घरपरिवार लाभान्वित भएका छन्।
मतदानको मिति नजिकिँदै जाँदा जिल्लाका राजनीतिक दल र उम्मेदवारहरूले प्रचारप्रसारलाई तीव्र बनाएका छन्। उम्मेदवारहरू एकै दिन तीनदेखि छ स्थानमा चुनावी सभा आयोजना गर्दै टोलटोलमा घरदैलोमा जुटिरहेका छन्। ग्रामीण क्षेत्रमा चुनावी चहलपहल बढेसँगै सामाजिक सञ्जाललाई पनि प्रचारको माध्यम बनाइएको छ।
एक मात्र निर्वाचन क्षेत्र रहेको म्याग्दी जिल्लामा नेपाली कांग्रेसका कर्णबहादुर भण्डारी (केबी), एमालेका हरिकृष्ण श्रेष्ठ, नेपाली कम्युनिष्ट पार्टीका अर्जुन थापा र स्वतन्त्र उम्मेदवार डा. महावीर पुन मुख्य प्रतिस्पर्धीका रूपमा देखिएको राजनीतिक विश्लेषक लक्ष्मण शर्माले बताए।
उनका अनुसार यो चुनाव दलका उम्मेदवारहरूको साङ्गठनिक विरासत, विगतका कामको मूल्याङ्कन र डा. महावीर पुनको व्यक्तित्वबीचको प्रतिस्पर्धाका रूपमा हेरिएको छ। जिल्लामा छ स्थानीय तह, ८६ हजार ३९७ मतदाता, ८२ मतदानस्थल र १२० मतदान केन्द्र रहेका छन्।
उम्मेदवारहरूले हिमाली जिल्लाको मान्यतालाई व्यवहारमा उतार्ने, सार्वजनिक सेवा प्रवाहलाई प्रविधिमैत्री बनाएर सुशासन कायम गर्ने, ढिलासुस्ती हटाउने तथा कानुन, बजेट र योजनामा जिल्लावासीको भावना र आवश्यकतालाई समेट्ने प्रतिबद्धता व्यक्त गरेका छन्।



कागजपत्र |
