जेन-जी आन्दोलनका घाइतेको विवरण पठाउन अन्तिम सूचना


काठमाडौं-  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जेन–जी आन्दोलनका क्रममा घाइते भएकाहरूको विवरण उपलब्ध गराउन सम्बन्धित स्वास्थ्य संस्थाहरूलाई १५ दिने अन्तिम म्यादसहित सूचना जारी गरेको छ।

मन्त्रालयका अनुसार गृह मन्त्रालयको पत्र तथा समन्वय समितिको बैठकको निर्णयअनुसार जेन–जी आन्दोलनका घाइतेहरूको सूचीकरण, वर्गीकरण र पुनःवर्गीकरणसम्बन्धी प्रक्रिया अघि बढाइएको छ। उक्त कार्यलाई समयमै निष्कर्षमा पुर्‍याउन आवश्यक विवरण संकलन भइरहेको मन्त्रालयले जनाएको छ।

लामो समयसम्म पनि सबै स्वास्थ्य संस्थाबाट आवश्यक विवरण प्राप्त नभएकाले मन्त्रालयले फागुन १ गतेदेखि १५ गतेसम्मको समयसीमा तोक्दै अन्तिम सूचना प्रकाशन गरेको हो। तोकिएको अवधिभित्र विधिपूर्वक प्राप्त भएका निवेदन तथा विवरणका आधारमा घाइतेहरूको अन्तिम नामावली सार्वजनिक गर्ने तयारी गरिएको मन्त्रालयले स्पष्ट पारेको छ।

जेन–जी आन्दोलनका क्रममा घाइते भई उपचार गरिएका सबै व्यक्तिहरूको विवरण सम्बन्धित स्वास्थ्य संस्थाहरूले मन्त्रालयको आधिकारिक इमेल ठेगानामा फागुन १५ गतेभित्र पठाउन आग्रह गरिएको छ।

तोकिएको समयसीमाभित्र विवरण प्राप्त नभएमा सम्पूर्ण प्रक्रिया प्रभावित हुन सक्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ।

प्रतिक्रिया