एमालेको झण्डा नजलाएको रास्वपाको प्रष्टिकरण, छानबिनको माग


काठमाडाैं-  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले दाङमा एमालेको झण्डा जलाइएको घटनामा आफूहरूको संलग्नता नभएको स्पष्ट पारेको छ। पार्टीले घटना छानबिन गरी दोषीमाथि कारबाही गर्न सरकारसँग माग गरेको छ।

बिहीबार राति दाङको तुलसीपुर बजारमा एक समूहले एमाले अध्यक्ष केपी शर्मा ओलीविरुद्ध नाराबाजी गर्दै एमालेको चुनाव चिह्न अंकित झण्डा जलाएको थियो।

यस घटनाप्रति प्रतिक्रिया जनाउँदै एमाले दाङ जिल्ला अध्यक्ष शिव कुमार आचार्यले रास्वपाका कार्यकर्ताहरूले झण्डा जलाएको आरोप लगाउँदै यसलाई ‘अपरिपक्वताको पराकाष्ठा’ भनेका थिए।

तर, रास्वपा सभापति रवि लामिछानेले एमालेको आरोपको खण्डन गरेका छन्। साथै, रास्वपा दाङ जिल्ला सभापति बिनय घिमिरेले विज्ञप्ति जारी गर्दै आफूहरूको पार्टी झण्डा जलाउने कार्यमा संलग्न नभएको स्पष्ट पारेका छन्।

विज्ञप्तिमा भनिएको छ, “रास्वपाको बढ्दो जनलहरलाई धुमिल बनाउने उद्देश्यले गरिएको यस्तो निन्दनीय कार्यमा हाम्रो पार्टीको कुनै पनि संलग्नता छैन।”

प्रतिक्रिया