एमालेकाे झण्डा जलाएको घटनापछि रास्वपाका दुई चुनावी सभा स्थगित


काठमाडौं –  राष्ट्रिय स्वतन्त्र पार्टीले फागुन ९ गते रुपन्देहीको भैरहवामा आयोजना गर्ने भनिएको प्रदेशस्तरीय चुनावी सभा स्थगित गरेको छ। रुपन्देही–३ का चुनावी कमाण्डर नारायणप्रसाद भण्डारीका अनुसार पार्टी केन्द्रबाट तत्काल कार्यक्रम रोक्न निर्देशन आएको हो।

यस्तै, फागुन १० मा पोखरामा आयोजना गर्न लागिएको सभा पनि स्थगित गरिएको छ। पार्टी केन्द्रीय कार्यालयले प्रदेश समितिलाई पठाएको पत्रमा संगठनात्मक प्राथमिकता निर्धारण र रणनीतिक व्यवस्थापनका कारण सभा स्थगित गरिएको उल्लेख छ। कार्यक्रमका लागि पत्रकार सम्मेलन, प्रचारप्रसार र स्टेज निर्माणको तयारीसमेत भइसकेको थियो।

स्थगनको पछाडि पछिल्लो समयको घटनाक्रम महत्वपूर्ण कारण बनेको छ। बिहीबार दाङमा रास्वपा समर्थकहरूले नेकपा एमालेको झण्डा जलाउँदै अध्यक्ष केपी शर्मा ओली विरुद्ध आपत्तिजनक नाराबाजी गरेका थिए।

चुनावी माहोल थप बिथोलिन सक्ने सम्भावना देखिएपछि पार्टीले सभा स्थगित गर्ने निर्णय गरेको बुझिएको छ। यस घटनाप्रति एमाले कार्यकर्ताहरू आक्रोशित देखिएका छन्।

प्रतिक्रिया