सर्लाहीमा पेस्तोल पड्किँदा १५ वर्षीय बालक घाइते


सर्लाही-  सर्लाहीमा बिहीबार दिउँसो पेस्तोल पड्किँदा एक बालक घाइते भएका छन्। गोली लागेर मलंगवा नगरपालिका–४ ढाका बोर्डर टोलका १५ वर्षीय आकाश राम घाइते भएका हुन्।

प्रहरीका अनुसार घर नजिकै निर्माणाधीन हनुमान मन्दिरभित्र रातो कपडाले बेरिएको अवस्थामा आकाशले पेस्तोल फेला पारेका थिए। नक्कली ठानेर चलाउने क्रममा पेस्तोल अचानक पड्किएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी नायब उपरीक्षक सरोज राईले जानकारी दिए।

गोली आकाशको दाहिने हातको पन्जामा लागेको छ। घाइते बालकलाई तत्काल उपचारका लागि प्रादेशिक अस्पताल मलंगवा लगिएको छ। चिकित्सकका अनुसार उनको अवस्था मध्यम रहेको छ।

प्रहरीले घटनास्थलबाट एक थान पेस्तोल बरामद गरेको छ। पेस्तोलमा पड्किएको खोका अड्किएको अवस्थामा भेटिएको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

पेस्तोल भेटिएको स्थानबाट करिब ५ सय मिटरको दूरीमा आइतबार साँझ  प्रमोद कुमार यादवको गोली हानी हत्या गरिएको थियो। उनी पूर्वाधार विकास कार्यालयका सब–इन्जिनियर थिए।

प्रतिक्रिया