
वैदेशिक रोजगारीको बहानामा ठगी, तीन जना पक्राउ
काठमाडौं- प्रहरीले वैदेशिक रोजगारीको बहानामा विभिन्न व्यक्तिहरूबाट करोडौँ रकम ठगी गरेको आरोपमा तीन जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक रामेश्वर कार्कीका अनुसार पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका–८ बस्ने २६ वर्षीय सरस्वती श्रेष्ठ, काठमाडौँ महानगरपालिका–३० बस्ने ३८ वर्षीय दीपेश श्रेष्ठ र खोटाङ केपिलासगढी गाउँपालिका–२ बस्ने ४८ वर्षीय मनिराज राई रहेका छन्।
प्रवक्ता कार्कीका अनुसार, पीडितको उजुरीका आधारमा पक्राउ गरिएको हो। उजुरीअनुसार सरस्वती श्रेष्ठले जापान पठाउने भन्दै २४ लाख रुपैयाँ, दीपेश श्रेष्ठले आइसल्याण्ड पठाउने भन्दै १७ लाख रुपैयाँ, र मनिराज राईले अल्बानिया पठाउने भन्दै ३ लाख ७० हजार रुपैयाँ रकम लिइ विदेश नपठाई सम्पर्कबिहीन भएका थिए।
पक्राउ परेका तीनै जनामाथि थप अनुसन्धान र आवश्यक कारबाहीका लागि वैदेशिक रोजगार विभाग, ताहाचलमा पठाइएको प्रहरीले जानकारी दिएको छ।



कागजपत्र |
