नयाँ पार्टीको अफवाह चिर्न आवश्यक छ : डा‍. शेखर कोइराला


काठमाडाैं-  नेपाली कांग्रेसका नेता  डा‍. शेखर कोइरालाले संविधानको संरक्षण, संसदीय सर्वोच्चता र नागरिक स्वतन्त्रताको पक्षमा प्रतिनिधिसभा सदस्य निर्वाचनमा होमिएको बताएका छन्।

मोरङ क्षेत्र नम्बर–६ अन्तर्गत विराटनगर–५ जामुनगाछीमा मंगलबार आयोजित चुनावी प्रचार–प्रसार तथा आम सर्वसाधारणसँगको भेटघाट कार्यक्रममा उनले संसद् बलियो नभए कांग्रेस पनि कम्युनिस्ट बन्ने खतरा रहेको चेतावनी दिए।

उनले भने, “संसद्को सर्वोच्चताका लागि तपाईंहरूले मलाई संसद् पठाउनुहुनेछ भन्ने विश्वास छ। संसद्मा कांग्रेसको सर्वोच्चता नहुँदा भोलि कांग्रेस पनि कम्युनिस्ट हुनेछ, जुन आम विराटनगरवासीले चाहेका छैनन्। मुलुकको राजनीतिक अवस्था गम्भीर छ, त्यसैले निर्वाचनलाई सबैले गम्भीरतापूर्वक लिएर मतदान गर्नुपर्छ।”

नेता कोइरालाले नयाँ राजनीतिक दलहरूबारे तथ्य बुझ्न जरुरी रहेको उल्लेख गर्दै पुराना दलप्रति नकारात्मक भाष्य र अफवाह फैलाइएको आरोप लगाए। “नयाँ पार्टीहरूले पुराना दलविरुद्ध फैलाएको अफवाह चिर्न आवश्यक छ। जेनजी विद्रोहपछि मुलुक थप पछाडि धकेलिएको महसुस भएको छ। सोही आन्दोलनका कारण ०८४ मा हुने निर्वाचन दुई वर्षअघि नै आइपुगेको छ। त्यसैले यो चुनाव सामान्य निर्वाचन होइन, जनमत सङ्ग्रहसरह हो,” उनले भने।

विदेशमा रहेका नेपालीहरूले यहाँको यथार्थ नबुझी अमुक दललाई सहयोग गर्न उक्साइरहेको प्रसङ्ग उठाउँदै उनले भने, “विदेशमा बस्नुभएकाहरूलाई यहाँको अवस्था बुझ्न आग्रह गर्छु। घरमा समस्या पर्दा आमाबुवालाई सहयोग गर्ने हामी यहीँ रहेका छौँ। हाम्रै दलका साथीहरू दिन–रात खटिरहेका छन्।”

विराटनगरका विभिन्न वडामा विकासले गति लिएको उल्लेख गर्दै उनले वित्तीय आयोगको मूल्याङ्कनमा विराटनगर महानगर पहिलो स्थानमा पर्नु गर्वको विषय भएको बताए। “महानगरको विकासको नेतृत्व कांग्रेसले गरे पनि आम नागरिकको सहयोगले पहिलो स्थान हासिल भएको हो,” उनले भने।

काठमाडौँ महानगर अन्तिम स्थानमा परेको उदाहरण दिँदै उनले सुशासन, वित्तीय पारदर्शिता र जनताप्रतिको जवाफदेहिता कमजोर भएको टिप्पणी गरे। “विराटनगरले वित्तीय सुशासन कायम राखेको छ, यसमा हामी सबै महानगरवासीले गर्व गर्नुपर्छ,” उनले थपे।

जामुनगाछी हुँदै सुनसरीतर्फ जाने हुलाकी सडक निर्माणमा भएको ढिलासुस्तीबारे स्थानीय असन्तुष्टि रहेको स्वीकार गर्दै नेता कोइरालाले कांग्रेसकै पहलमा समस्या समाधान गरिएको बताए। राज्यले समयमै भुक्तानी नदिँदा ठेकेदार बेपत्ता भएपछि खोजी गरी सडक निर्माण अघि बढाइएको उनको भनाइ छ।

त्यसैगरी, विराटनगरको पश्चिम क्षेत्र वडा नम्बर ४, ५, ११ र १२ मा हरेक वर्ष डुबानको समस्या हुने गरेको उल्लेख गर्दै केशलिया खोला र बुढी खोलामा तटबन्ध निर्माणलाई प्राथमिकतामा राखेर आफूले सक्दो पहल गर्ने प्रतिबद्धता जनाए।

प्रतिक्रिया