सुन्दरहरैंचालाई अझै सुन्दर बनाउने जिम्मा दिनुहोस्: शेखर कोइराला


विराटनगर- नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले २०७९ सालको निर्वाचनमा आफूले गरेको प्रतिबद्धताअनुसार पूर्वाञ्चल विश्वविद्यालयमा मेडिकल कलेज सञ्चालन भई ५० जना विद्यार्थी भर्ना भएकोमा खुसी व्यक्त गरेका छन्।

मोरङ क्षेत्र नं. ६ अन्तर्गत सुन्दरहरैंचा नगरपालिका वडा नं. २ को मृगौलियामा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै कोइरालाले विगतको तुलनामा सुन्दरहरैंचाको स्वरूप उल्लेखनीय रूपमा परिवर्तन भएको बताए। उनले विद्यार्थी संख्या बढ्दै जाँदा वडा नं. २ को समग्र विकास अझ तीव्र हुने विश्वास व्यक्त गरे।

उनका अनुसार नदी नियन्त्रण, वृन्दावन गौशाला तटबन्ध, तेलिया खोला, गछिया खोला तटबन्ध, सडक तथा भवन निर्माण, मठ–मन्दिर र धार्मिक स्थल संरक्षण, शैक्षिक संस्था विकास, मृगौलिया खानेपानी आयोजना विस्तारलगायत क्षेत्रमा महत्वपूर्ण काम भएका छन्।

कोइरालाले मृगौलियाका किसानका लागि सिँचाइ व्यवस्थालाई प्राथमिकता दिने प्रतिबद्धता पनि जनाए। उनले एउटा डिप ट्युबवेल बिग्रिएको उल्लेख गर्दै निर्वाचनपछि नयाँ डिप ट्युबवेल जडान गर्ने बताए।

सुन्दरहरैंचालाई थप विकसित र अझ सुन्दर बनाउने लक्ष्य रहेको भन्दै उनले स्थानीय मतदातासँग समर्थनको अपिल गरे। उनले भने, “सुन्दरहरैंचालाई अझै सुन्दर बनाउने जिम्मा मलाई दिनुहोस्।”

प्रतिक्रिया