सब–इन्जिनियर हत्या प्रकरण: सर्लाही जिल्ला अदालतको सेवा ठप्प


सर्लाही–मलंगवामा सब–इन्जिनियरको गोली हानी हत्या भएको घटनाको विरोधमा सर्लाही जिल्ला अदालतको सेवा अवरुद्ध भएको छ।

आइतबार राति अज्ञात व्यक्तिको गोली प्रहारबाट सब–इन्जिनियरको हत्या भएपछि त्यसको विरोधमा सोमबार सर्लाही जिल्ला अदालतका कर्मचारीले अदालतको कामकाज ठप्प पारेका हुन्। कर्मचारीहरूले अदालतको मूलद्वारमा धर्ना दिँदै हत्याका दोषीलाई तत्काल पक्राउ गरी कडा कारबाही गर्नुपर्ने तथा कर्मचारीको सुरक्षाको सुनिश्चितता माग गरेका छन्।

पूर्वाधार विकास कार्यालयमा कार्यरत सिरहाको सुखीपुर नगरपालिका–६, वैशाखा घर भएका ३६ वर्षीय सब–इन्जिनियर प्रमोदकुमार यादवको मलंगवास्थित डेरामै गोली हानी हत्या गरिएको हो। यादव आइतबार दिउँसो मात्रै बुबाको काजकिरिया सकेर मलंगवा फर्किएका थिए। फर्किएलगत्तै उनीमाथि आक्रमण भएको प्रहरीले जनाएको छ।

सर्लाहीका प्रहरी उपरीक्षक योगेन्द्रकुमार खड्काका अनुसार यादव घर पुगेको केही समयमै हत्या भएको हो र घटनाको विभिन्न कोणबाट अनुसन्धान भइरहेको छ।

यादवकी पत्नी पुनम यादवका अनुसार मोटरसाइकलमा आएका व्यक्तिले उनलाई कोठाबाहिर बोलाएर गोली प्रहार गरेका थिए। गोली उनको देब्रे छातीमा लागेको थियो। घटनास्थलबाट एउटा गोलीको खोका पनि बरामद गरिएको छ।

प्रहरी नायब उपरीक्षक सरोज राईले प्रारम्भिक अनुसन्धानका आधारमा सानो हतियार (पेस्तोल) प्रयोग भएको देखिएको बताए। गोली लागेर गम्भीर घाइते भएका यादवलाई आइतबार राति नै उद्धार गरी मलंगवास्थित प्रादेशिक अस्पताल पुर्‍याइएको थियो। अस्पताल पुर्‍याएलगत्तै चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए।

हत्याको कारण भने अहिलेसम्म खुल्न सकेको छैन। यादव श्रीमती र दुई वर्षीया छोरीसँगै मलंगवामा डेरामा बस्दै आएका थिए।

प्रतिक्रिया