नागढुङ्गा चेकपोष्टमा पेस्तोलसहित एकजना पक्राउ


काठमाडौं-  काठमाडौँको प्रमुख प्रवेशद्वार नागढुङ्गामा प्रहरीले एक अत्याधुनिक पेस्तोल र चार राउण्ड गोलीसहित एक जनालाई पक्राउ गरेको छ।

चन्द्रागिरि नगरपालिका–२ स्थित नागढुङ्गा चेकपोष्टमा खटिएको प्रहरी टोलीले शुक्रबार बिहान नियमित जाँचका क्रममा कीर्तिपुर नगरपालिका–२ बस्ने ३० वर्षीय केयुर पुरीलाई नियन्त्रणमा लिएको हो।

प्रहरीका अनुसार, चितवनबाट काठमाडौँतर्फ आउँदै गरेको बा.१९ च ६९० नम्बरको कारमा शङ्का लागेर खानतलासी गर्दा उक्त पेस्तोल र गोली फेला परेको थियो।

पक्राउ परेका पुरीलाई पेस्तोल र गोलीसहित नियन्त्रणमा लिएर प्रहरीले थप अनुसन्धान अघि बढाएको छ।

प्रतिक्रिया