
अमेरिका पठाइदिने भन्दै १० लाखभन्दा बढी ठगी, महिला पक्राउ
काठमाडौं- वैदेशिक रोजगारीका लागि अमेरिका पठाइदिने भन्दै रकम ठगी गर्ने एक महिला पक्राउ परेकी छन्। अमेरिका पठाउने प्रलोभन देखाएर लाखौँ रुपैयाँ ठगी गरेको आरोपमा ३७ वर्षीया किरण कुमारी चौधरीलाई प्रहरीले नियन्त्रणमा लिएको हो।
प्रहरीका अनुसार चौधरीले अमेरिका पठाइदिने भन्दै एक व्यक्तिबाट १० लाख ८० हजार रुपैयाँ ठगी गरेको उजुरी परेपछि अनुसन्धान सुरु गरिएको थियो। सोही उजुरीका आधारमा वैदेशिक रोजगार न्यायाधिकरणले पक्राउ पुर्जी जारी गरेको र त्यसैअनुसार माघ १२ गते रौतहटको जुडिबेलाबाट उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।
प्रहरीको प्रारम्भिक अनुसन्धानअनुसार अमेरिका लगायतका विभिन्न देशमा रोजगारीका लागि पठाइदिने भन्दै ठगी गर्ने कार्यमा चौधरी मात्र नभई ठूलो गिरोह नै सक्रिय रहेको आशंका गरिएको छ। यस विषयमा थप अनुसन्धान अघि बढाइएको प्रहरीले बताएको छ।



कागजपत्र |
