
दार्चुलामा प्रहरी हवल्दारकाे हत्या
दार्चुला – दार्चुलामा सामुदायिक प्रहरी सेवा केन्द्रमा कार्यरत एक प्रहरी हवल्दार हत्या गरिएको अवस्थामा फेला परेका छन्।
महाकाली नगरपालिका–४ स्थित सामुदायिक प्रहरी सेवा केन्द्र बाङ्गाबगरमा कार्यरत प्रहरी हवल्दार योगेन्द्र घर्ती मंगलबार बिहान मृत अवस्थामा फेला परेका हुन्।
दार्चुलाका प्रमुख जिल्ला अधिकारी अनिल पौडेलका अनुसार घर्तीको शव स्थानीय पूजा बियर बारको बाहिरी भागमा भेटिएको हो। घटनाबारे जानकारी प्राप्त हुनासाथ सुरक्षाकर्मी घटनास्थल पुगेका थिए।
घटनालाई हत्या भएको आशंकामा अनुसन्धान अघि बढाइएको छ। प्रजिअ पौडेलले प्रहरी हवल्दारको हत्या प्रकरणमा संलग्न भएको आशंकामा दुई जनालाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरिएको जानकारी दिए।
‘मंगलबार बिहान प्रहरी हवल्दारको शव भेटिएको हो। हत्या भएको आशंकामा प्रहरीले अनुसन्धान गरिरहेको छ,’ प्रजिअ पौडेलले भने, ‘दुई जनालाई नियन्त्रणमा लिइएको छ। अनुसन्धानपछि घटनाको वास्तविक कारण खुल्नेछ।’
प्रहरीले घटनाको सबै पाटोबाट छानबिन भइरहेको र आवश्यक प्रमाण संकलनको काम जारी रहेको जनाएको छ।



कागजपत्र |
