
टीयूको ट्रान्सक्रिप्ट अब अनलाइनबाट मात्र, साउन १ देखि नयाँ व्यवस्था लागू
काठमाडौँ – त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय (पनिका) ले स्नातक तहका विभिन्न शैक्षिक कार्यक्रमको ट्रान्सक्रिप्टका लागि अबदेखि अनलाइनमार्फत मात्र आवेदन लिने व्यवस्था लागू गर्ने भएको छ।
पनिकाले सोमबार सूचना जारी गर्दै आगामी साउन १ गतेदेखि चार वर्षे स्नातक तहअन्तर्गतका बीए, बीएड, बीएस्सी र बीबीएस कार्यक्रमका ट्रान्सक्रिप्टका लागि अनिवार्य रूपमा अनलाइन आवेदन दिनुपर्ने जनाएको हो।
परीक्षा नियन्त्रक प्रा. डा. लक्ष्मण पौडेलका अनुसार साउन १ गतेपछि यी कार्यक्रमका ट्रान्सक्रिप्टका लागि भौतिक रूपमा आवेदन संकलन गरिने छैन। विद्यार्थीहरूले त्रिभुवन विश्वविद्यालयको आधिकारिक वेबसाइटमार्फत ‘स्टुडेन्ट पोर्टल’ प्रयोग गरी आवेदन दिन सक्नेछन्।
आवेदनका क्रममा विद्यार्थीले आफ्नो रजिस्ट्रेसन कार्डमा उल्लेख भएअनुसारका विवरण सही रूपमा प्रविष्ट गर्नुपर्नेछ। साथै, ट्रान्सक्रिप्टका लागि तोकिएको शुल्क पनि अनलाइन प्रणालीबाटै भुक्तानी गर्नुपर्ने व्यवस्था गरिएको छ।
अनलाइन आवेदन प्रक्रियालाई सहज बनाउन पनिकाले वेबसाइटमा ‘अनलाइन ट्रान्सक्रिप्ट एप्लिकेसन म्यानुअल’ उपलब्ध गराएको जनाएको छ। प्रविधिसम्बन्धी समस्या भएका विद्यार्थीको सहजीकरणका लागि बल्खुस्थित परीक्षा नियन्त्रण कार्यालयमा हेल्प डेस्कसमेत स्थापना गरिनेछ।
पनिकाले विवरण गलत प्रविष्ट गरेमा युजर आईडी सिर्जना नहुने भएकाले आवेदन गर्दा विशेष सावधानी अपनाउन विद्यार्थीलाई आग्रह गरेको छ।




कागजपत्र |
