ओखलढुंगाकाे भदौरे गाउँमा चुनाव बहिष्कार


ओखलढुंगा-  ओखलढुंगाको चिशंखुगढी गाउँपालिका–६ भदौरेमा एक महिनाभित्र चार जनाको हत्या भएपछि स्थानीय बासिन्दा असुरक्षित महसुस गर्दै गाउँ छोड्न थालेका छन्। उनीहरूले पीडितलाई न्याय र सुरक्षा सुनिश्चित नभएसम्म आगामी फागुन २१ को प्रतिनिधिसभा निर्वाचनमा मतदान नगर्ने निर्णय गरेका छन्।

समुदायका प्रतिनिधि सन्तोषकाजी कार्कीका अनुसार किसानका गोठमा खसी–बोका समेत चोरी भइरहेका छन् र गाउँले दुई–तीन घर जम्मा भएर आलोपालो सुत्न बाध्य छन्। स्थानीय भेलाले पीडित परिवारलाई न्याय दिलाउने, नागरिक सुरक्षामा दबाब दिने र चरणबद्ध आन्दोलन सञ्चालन गर्ने २५ सदस्यीय संघर्ष समिति गठन गरेको छ।

भेलाले हत्या घटनामा संलग्न व्यक्तिहरूलाई तुरुन्त पक्राउ गरी कानुनी दायरामा ल्याउन, अस्थायी सुरक्षा क्याम्प स्थापना गर्न र नेपाली प्रहरी, सशस्त्र प्रहरी तथा आवश्यक परे सेना परिचालन गर्न माग गरेको छ। स्थानीय वडा कार्यालयले पनि मुख्य चोक र सडकहरूमा सीसी क्यामेरा जडान गरी निगरानी व्यवस्था गर्न माग गरेको छ।

सर्वपक्षीय भेलामा अधिकांश दलहरूले आगामी चुनावमा ‘नो–भोट’ घोषणा गरेका छन् भने नेपाली कम्युनिष्ट पार्टीले फरक मत राखेको छ।

प्रतिक्रिया