गोली चलाउने आदेश दिएको आरोप झुटो हो: केपी ओली


काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भदौ २३ गते गोली चलाउने आदेश दिएको भन्ने आरोपलाई झुटो र आधारहीन भएको बताएका छन्।

बुधबार राति एमालेको काठमाडौं–झापा सम्पर्क समितिले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले जेन–जीको नाममा विध्वंश मच्चाउनेहरूले नै आफूविरुद्ध झुटा आरोप लगाइरहेको दाबी गरे। उनले आफूले गोली चलाउने आदेश दिएको भन्ने आरोप लगाउनेहरू नै वास्तविक अपराधी भएको टिप्पणी गरे।

तत्कालीन प्रधानमन्त्रीसमेत रहेका ओलीले आगजनी र हत्या गर्नेहरूले उल्टै आफूलाई हत्यारा, षड्यन्त्रकारी र घृणित आरोप लगाएर देशलाई बदनाम गर्ने प्रयास गरेको बताए। ‘सबैले “बा” भने भन्ने रिसले यिनीहरूले केही मान्छे मार्ने परिस्थिति बनाएर ऊ हत्यारा हो भनेर भन्न थाले,’ ओलीले भने, ‘आगो लगाएर मार्ने उनीहरू, अनि हत्यारा हुने केपी ओली? मराउने को हुन्, यिनीहरू? अनि मराउनेहरूले उल्टै हाम्रा विरुद्ध मार्ने र मराउने, आगो लगाउने र गोली चलाउन बाध्य पार्नेहरूले षड्यन्त्रका पोकाहरू बोकेर हामीमाथि घृणित लाञ्छना लगाइरहेका छन्।’

प्रधानमन्त्रीले गोली चलाउने आदेश दिन नसक्ने स्पष्ट पार्दै ओलीले आफूले यस्तो कुनै आदेश नदिएको दोहोर्‍याए। ‘जुन केपी ओली बालबालिकादेखि हुरुक्क हुन्छ, तिनलाई अत्यन्त माया गर्छ, आफ्ना बाबुआमाले भन्दा कम माया गर्दिनँ,’ उनले भने, ‘त्यही केपी ओलीले बच्चा मार्‍यो भनेर आरोप लगाइएको छ। मान्छेहरूलाई अलि भ्रममा पारिएको छ।’

प्रतिक्रिया