
त्रिभुवन विमानस्थलमा सुन ओसार्ने प्रयास, भारतीय नागरिक र सरसफाइ कर्मचारी पक्राउ
काठमाडौ- त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैध रूपमा सुन भित्र्याउने र बाहिर लैजाने प्रयासमा संलग्न दुई जना पक्राउ परेका छन्। विमानस्थल सुरक्षा कार्यालयले छुट्टाछुट्टै दुई घटनामा एक भारतीय नागरिक र विमानस्थलमै कार्यरत एक सरसफाइ कर्मचारीलाई नियन्त्रणमा लिएको हो।
बुधबार बिहान करिब १० बजे दुबईबाट फ्लाई दुबईको उडानमार्फत काठमाडौँ आएका ४९ वर्षीय भारतीय नागरिक अबु बरकत कुदरते खुदा काजीलाई प्रहरीले शंकाका आधारमा नियन्त्रणमा लिएको थियो। प्रारम्भिक चेकजाँचका क्रममा उनको गतिविधि शंकास्पद देखिएपछि थप परीक्षण गरिएको थियो।
प्रहरीका अनुसार मलद्वारभित्र सुन लुकाएको आशंका भएपछि उनलाई शौचालयमा शौच गर्न लगाइएको थियो। सो क्रममा उनको शरीरबाट करिब १०० ग्राम तौल बराबरको पहेँलो रङको बेलनाकार अर्धठोस धातुको डल्ला बरामद भएको हो। भन्सार छली गरी अवैध रूपमा सुन भित्र्याउन खोजेको आरोपमा उनलाई आवश्यक कारबाहीका लागि भन्सार कार्यालयमा बुझाइएको छ।
यस्तै, विमानस्थलको आन्तरिक सुरक्षा व्यवस्था छलेर सुन बाहिर लैजान खोज्ने विमानस्थलमै कार्यरत एक सरसफाइ कर्मचारी पनि पक्राउ परेका छन्। पक्राउ पर्नेमा सुनगाभा सगरमाथा सर्भिस प्रालि कम्पनीमार्फत विमानस्थल सरसफाइमा खटिने ४० वर्षीय डिकबहादुर राउत रहेका छन्।
मंगलबार बिहान विमानस्थलभित्रका डस्टबिनबाट फोहर संकलन गरी बाहिर निस्कने क्रममा प्रहरी चेकिङ पोस्टमा राउतले बोकेको फोहरको पोका स्क्रिनिङ गरिएको थियो। स्क्रिनिङका क्रममा फोहरभित्र लुकाइएका ४.४ ग्राम तौलका सुनका सिक्रीका टुक्रा फेला परेपछि उनलाई नियन्त्रणमा लिइएको विमानस्थल प्रहरी कार्यालयले जनाएको छ।
विमानस्थल प्रहरीका अनुसार दुवै घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको छ।



कागजपत्र |
