अमेरिकाबाट एकैपटक १२१ नेपाली ‘डिपोर्ट’ गरिँदै

फेब्रुअरी २१ मा नेपाल पठाइने तयारी


काठमाडौ— अमेरिकाले एकै पटक १२१ जना नेपालीलाई डिपोर्ट गरेर नेपाल पठाउने तयारी गरेको छ। आगामी फेब्रुअरी २१ तारिखमा ती सबैलाई डिपोर्टेशन उडानमार्फत स्वदेश फर्काउन लागिएको हो।

अन्तिम समयमा संख्यामा कमी नआएमा नेपालीका सन्दर्भमा यो अहिलेसम्मकै सबैभन्दा ठूलो समूहको डिपोर्टेसन हुनेछ। वैधानिक कागजातबिना बसोबास गर्ने आप्रवासीहरूलाई लक्षित अमेरिकी नीतिका कारण हाल ठूलो संख्यामा नेपालीहरू देश निकाला भइरहेका छन्।

डिपोर्ट हुने नेपालीहरूको उडानको समय र विमानको प्रकार सम्बन्धी विवरण भने सार्वजनिक गरिएको छैन। अमेरिकाबाट ठूलो समूहमा आप्रवासीलाई पठाउँदा प्रायः चार्टर्ड उडान प्रयोग गरिदै आएको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दोस्रो कार्यकालको १ बर्षमा अमेरिकाबाट ५८३ नेपाली डिपोर्ट भएपनि अहिलेसम्म एकैपटक डिपोर्ट गरिएका नेपालीको उच्चसंख्या जनवरी २० मा ८० रहेको थियो । ट्रम्पको कार्यकालको १ बर्ष पूरा भएकै दिन जनवरी २० मा एकैपटक चार्टड विमानमार्फत डिपोर्ट गरिएका ८० जना नेपालीहरु काठमाडौं पुगेका थिए । जसमा १ जना महिला र अरु पुरुषहरु थिए ।

डिसेम्बरमा पनि एकै दिन ७५ जना नेपालीलाई डिपोर्ट गरिएको थियो, जसमा ६९ जना पुरुष र ६ महिला रहेका थिए । डिसेम्बरदेखि हरेक महिना कम्तीमा एउटा चार्टडविमानमार्फत नेपालीहरुलाई अमेरिकाले डिपोर्ट गर्न सुरु गरेको देखिन्छ ।

अहिलेसम्म डिपोर्ट हुनेहरुमध्ये अधिकांश पुरुष छन् भने महिला संख्या न्यून छ। पछिल्ला महिनाहरूमा डिपोर्टको संख्या तीव्र रूपमा बढेको छ, जसमा चार्टर्ड उडान मार्फत ठूलो संख्यामा नेपालीहरूलाई एकै पटक फर्काइएको छ।

अधिकांश डिपोर्ट भएकाहरू अवैध रूपमा मेक्सिको हुँदै अमेरिका प्रवेश गरेका थिए । उनीहरुले मानवतस्करहरुलाई ८० लाखदेखि १ करोड नेपाली रुपैयाँसम्म तिरेको पाइएको छ।

डिपोर्ट भएकाहरूलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमनले मानव बेचबिखन तथा अनुसन्धान ब्यूरोलाई जिम्मा लगाउँछ। ब्यूरोले सामान्य सोधपुछपछि आफन्तको जिम्मा लगाउँछ, तर लिखित उजुरी परेमा मात्र अनुसन्धान हुन्छ। —खसोखासडटकम

 

 

प्रतिक्रिया