
उपचारको बहानामा नक्कली सुन देखाएर ठगी, एकजना पक्राउ
झापा- झापाका विभिन्न स्थानमा पुगेर नक्कली सुन देखाउँदै आफू अप्ठ्यारो अवस्थामा परेको र उपचारका लागि तत्काल रकम आवश्यक भएको बहानामा ठगी गर्दै हिँड्ने एक व्यक्ति प्रहरीको नियन्त्रणमा परेका छन् ।
पक्राउ पर्नेमा उदयपुरको चौदण्डीगढी नगरपालिका–३ निवासी ४३ वर्षीय जितबहादुर बिक रहेका छन् । जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता खगेन्द्रबहादुर खड्काका अनुसार बिकले भद्रपुर बजारस्थित भोजपुर ज्वेलर्समा सुन जस्तो देखिने पहेंलो धातु (नक्कली सुन) धरौटी राखेर रकम लिन खोजेपछि ठगीको रहस्य खुलेको हो ।
ज्वेलर्स सञ्चालकलाई गहना नक्कली हुनसक्ने शंका लागेपछि तत्काल प्रहरीलाई खबर गरिएको थियो । सूचनापछि खटिएको प्रहरी टोलीले बिकलाई नक्कली सुनका गहनासहित नियन्त्रणमा लिई आवश्यक अनुसन्धान तथा कारबाही प्रक्रिया अघि बढाएको प्रवक्ता खड्काले जानकारी दिए ।
प्रहरीका अनुसार बिक यसअघि पनि झापाकै बिर्तामोड क्षेत्रमा यस्तै तरिकाले ठगी कार्यमा संलग्न रहेको पाइएको छ । उपचारको नाममा सहानुभूति बटुल्दै नक्कली सुन देखाएर सर्वसाधारणलाई झुक्याउने शैलीमा उनले ठगी गर्दै आएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
यस किसिमका घटनाहरू पुनः हुन सक्ने भन्दै जिल्ला प्रहरी कार्यालय झापाले लोभ, लालच र सहानुभूति देखाएर गरिने ठगीप्रति सचेत रहन सर्वसाधारणलाई आग्रह गरेको छ ।



कागजपत्र |
