झापा गोल्डकपको तयारी अन्तिम चरणमा


काठमाडाैं– सातौँ संस्करणको ‘झापा गोल्डकप फुटबल प्रतियोगिता’ को तयारी अन्तिम चरणमा पुगेको छ। मोफसलकै चर्चित र व्यवस्थित प्रतियोगिताको रूपमा परिचित झापा गोल्डकप फागुन ४ गतेसम्म सञ्चालन हुनेछ।

प्रतियोगिता आयोजक समितिले शुक्रबार बिर्तामोडमा पत्रकार सम्मेलन गरी यस वर्ष पुरस्कार राशीमा वृद्धि गरिएको जानकारी दिएको छ। विजेताले नगद १५ लाख रुपैयाँ र उपविजेताले नगद ७ लाख ५० हजार रुपैयाँ सहित ट्रफी प्राप्त गर्नेछन्।

यस वर्षको संस्करण पूर्वअध्यक्ष बिनोद बस्नेतको स्मृतिमा सञ्चालन हुने अध्यक्ष केदार गिरीले जानकारी दिए। प्रतियोगितामा घरेलु टोली झापा–११ सहित भुटान, भारत र मलेसियाबाट समेत गरी १० टिमको सहभागिता रहनेछ।

प्रतियोगितामा सहभागी टोलीहरूमा झापा–११, चर्च ब्वाइज युनाइटेड, त्रिभुवन आर्मी क्लब, सशस्त्र प्रहरी एपीएफ, नेपाल पुलिस क्लब, मछिन्द्र क्लब, लालीगुराँस एसोसिएशन पोखरा, रोयल थिम्पु कलेज भुटान, सिङग्लिन स्पोर्टिङ क्लब भारत र एन पेनाङ क्लब मलेसिया रहेका छन्।

पुरस्कार वितरणसम्बन्धी विवरण अनुसार, सर्वोत्कृष्ट खेलाडीलाई मोटरसाइकल, सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोलकिपर र उत्कृष्ट प्रशिक्षकलाई जनही नगद ३५ हजार, र प्रत्येक दिनको प्लेयर अफ द म्याचले नगद २५ हजार प्राप्त गर्नेछन्, गोल्डकप महासचिव बुद्ध तामाङले बताए।

प्रतियोगिता हुने डोमालाल राजवंशी रंगशाला, बिर्ताबजार–३ मा करिब १० हजार दर्शक क्षमताको बाँसको प्याराफिट निर्माण गरिएको छ। उद्घाटन समारोहमा जिल्लाका पुराना फुटबल खेलाडीलाई नगद २५ हजारसहित सम्मान गरिनेछ भने रंगशालाको जग्गादाता डोमालाल राजवंशीको परिवारलाई पनि नगद २५ हजारसहित सम्मान गरिनेछ।

गोल्डकप सञ्चालनमा अनुमानित १ करोड ५० लाख रुपैयाँ खर्च लाग्ने छ। आयोजक समितिका उपाध्यक्ष गजेन्द्र पौडेलका अनुसार प्रतियोगिता हेर्न ५० हजारभन्दा बढी दर्शक आउने अपेक्षा गरिएको छ।

झापा गोल्डकप २०७२ सालदेखि सुरु भएको हो।

प्रतिक्रिया