राष्ट्रपति पौडेलकाे ४ दिने जापान भ्रमणः यस्तो छ तालिका


काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेल चार दिने जापान भ्रमणको सिलसिलामा आइतबार जापान प्रस्थान गर्दै छन्।

नेपाल–जापानबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ७०औं वार्षिकोत्सवको उपलक्ष्यमा जापान सरकारको निमन्त्रणामा राष्ट्रपति पौडेल जापान जान लागेका हुन्। भ्रमण माघ १८ देखि २१ गतेसम्म हुनेछ, जसमा परराष्ट्र मन्त्रालयका अनुसार विभिन्न राजकीय तथा शिष्टाचार भेटवार्ता र कार्यक्रमहरू समावेश छन्।

भ्रमणको प्रमुख कार्यक्रम अनुसार माघ २० मा राष्ट्रपति पौडेल टोकियोस्थित इम्पेरियल प्यालेसमा जापानका सम्राट नारुहितोसँग राजकीय भेटवार्ता गर्नेछन्। सोही दिन उनले जापानका प्रधानमन्त्री ताकाइची सानेसँग पनि भेटवार्ता गर्ने कार्यक्रम तय छ।

यसअघि माघ १९ मा राष्ट्रपति पौडेल जापान सरकारका तर्फबाट आयोजित विशेष समारोहमा सहभागी हुनेछन्, जसमा जापानका विदेश राज्यमन्त्री होरी इवाओले नेपाल–जापान कूटनीतिक सम्बन्धको ७०औं वार्षिकोत्सव मनाउने कार्यक्रम आयोजना गरेका छन्। सोही दिन विदेश राज्यमन्त्रीसँग शिष्टाचार भेटवार्ता पनि तय छ।

भ्रमणका क्रममा राष्ट्रपति पौडेलले जापानी व्यापारिक समुदायसँग भेटघाट गर्नेछन् र टोकियोस्थित नेपाली दूतावासले उनको सम्मानमा आयोजना गर्ने कार्यक्रममा पनि सहभागी हुने कार्यक्रम छ।

जापान भ्रमणमा राष्ट्रपति पौडेलसँग उनकी श्रीमती सविता पौडेल र उच्च पदस्थ सरकारी अधिकारीहरू पनि सहभागी हुनेछन्। राष्ट्रपति पौडेलको काठमाडौं फर्किने कार्यक्रम माघ २१ मा तय छ।

प्रतिक्रिया