
हिमपातपछि अवरुद्ध मध्यपहाडी लोकमार्ग रुकुमपूर्व खण्ड खुल्यो
रुकुम पूर्व- गत मंगलबार राति परेको हिमपातका कारण अवरुद्ध भएको मध्यपहाडी लोकमार्गको रुकुम पूर्व खण्ड बिहीबार अपरान्हदेखि पुनः सञ्चालनमा आएको छ ।
भुमे गाउँपालिका, सुरक्षाकर्मी तथा स्थानीयको सक्रिय प्रयासमा सडकमा जमेको हिउँ पन्छाएपछि अपरान्हबाट सवारीसाधन आवतजावत गर्न थालेका हुन् ।
जिल्ला प्रहरी प्रमुख डिएसपी उमाशंकर प्रसाद यादवका अनुसार मंगलबार रातिदेखि अवरुद्ध सडक खुलाउन गाउँपालिकाको समन्वयमा नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरी परिचालन गरिएको थियो । गाउँपालिकाको जेसिभी प्रयोग गरी सडकमा जमेको हिउँ हटाइएको र अलपत्र परेका यात्रुलाई सुरक्षाकर्मी तथा स्थानीयको सहयोगमा गन्तव्यतर्फ पठाइएको उनले बताए ।
बुधबारदेखि नै यातायात सञ्चालनको प्रयास गरिए पनि बिहीबार मात्रै सडक पूर्ण रूपमा खुलाउन सम्भव भएको डिएसपी यादवले जानकारी दिए । यद्यपि, तुसारो जमेर सडक चिप्लो हुने भएकाले रातिको समयमा सवारी नचलाउन अनुरोध गरिएको उनले बताए ।
करिब ३ हजार २ सय मिटर उचाइमा रहेको रुकुम पूर्व–बागलुङ सिमानाको पाथीहाल्ने क्षेत्र तथा आसपासका भूभागमा हरेक वर्ष हिमपातका कारण यातायात अवरुद्ध हुने गरेको छ ।
डिएसपी यादवले स्थानीय सरकार र सुरक्षाकर्मीले अधिकतम प्रयास गरे पनि दक्ष जनशक्ति र अत्याधुनिक उपकरणको अभावमा यस्ता उद्धार तथा सडक खुलाउने काम चुनौतीपूर्ण हुने गरेको बताए । ‘हिउँ पर्न थालेदेखि नै हामी सतर्क अवस्थामा हुन्छौं । बाटो पूर्ण रूपमा अवरुद्ध भएपछि अत्यधिक चाप बढ्छ,’ उनले भने, ‘जेसिभी र गैंती–बेल्चाको सहारामा हिउँ पन्छाउनुपर्छ । हिउँदमा आवश्यक पोषाक, बुट र पञ्जा जस्ता सुरक्षाका साधनसमेत नहुँदा सीमित स्रोतबाटै काम गर्नुपर्ने बाध्यता छ ।’



कागजपत्र |
