रेशम चौधरी प्रकरण: कर्तव्य ज्यान मुद्दाको फाइल आएपछि अन्तरिम आदेश हुने


काठमाडौं-  नागरिक उन्मुक्ति पार्टी, नेपालका संरक्षक रेशमलाल चौधरीले आफ्नो उम्मेदवारी कायम गरिपाऊँ भनी दायर गरेको रिट निवेदनमा सर्वोच्च अदालतले यसअघि दिएको आदेशअनुसारको कार्य सम्पन्न गरी फाइल पेस गर्न निर्देशन दिएको छ ।

सर्वोच्च अदालतका न्यायाधीशद्वय बालकृष्ण ढकाल र नृपध्वज निरौलाको संयुक्त इजलासले बिहीबार (माघ १५) उक्त आदेश जारी गरेको हो ।

यसअघि सर्वोच्च अदालतले चौधरीमाथि रहेको कर्तव्य ज्यान मुद्दासँग सम्बन्धित फैसलाको फाइल पेस गर्न आदेश दिएको थियो । सोही प्रकरणमा सर्वोच्चले निर्वाचन आयोगसँग लिखित जवाफसमेत माग गरेको छ ।

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि चौधरीले कैलाली–१ निर्वाचन क्षेत्रबाट उम्मेदवारी दर्ता गराएका छन् । यस विषयमा सर्वोच्चले अन्तरिम आदेशका लागि छलफल गर्न पक्ष–विपक्ष दुवैलाई उपस्थित हुन बोलाएको थियो ।

अब कर्तव्य ज्यान मुद्दासँग सम्बन्धित फैसलाको फाइल पेस भएपछि निर्वाचन आयोगले चौधरीको उम्मेदवारीसम्बन्धी गरेको निर्णयलाई रोक्ने वा नरोक्ने भन्ने विषयमा अन्तरिम आदेशमार्फत टुंगो लाग्ने भएको छ ।

प्रतिक्रिया