
गोदावरी मोर्डन हस्पिटलमा पाठेघरको शल्यक्रिया गराउन पुगेकी महिलाको मृत्यु
जनकपुरधाम- जनकपुरधामको गोदावरी मोर्डन हस्पिटलमा पाठेघरको शल्यक्रियाका लागि पुगेकी महिलाको मृत्यु भएको छ । धनुषाको गणेशमान चारनाथ नगरपालिका–१ की ४० वर्षीय उर्मिलादेवी यादव बुधबार साँझ शल्यक्रियाअघि बेहोस गर्ने क्रममा निधन भएकी हुन् ।
घटनापछि मृतकका आफन्तले उपचारमा लापरबाही भएको आरोप लगाउँदै अस्पतालमा प्रदर्शन गरेका थिए । तनावग्रस्त अवस्था देखिएपछि प्रहरीले मृतकका दुई जना आफन्तलाई नियन्त्रणमा लिएको छ ।
मृतकका भान्जा आकाश यादवका अनुसार स्त्री रोग विशेषज्ञ डा. सुरेन्द्र कर्णको सल्लाहमा आवश्यक जाँचपछि उनी अप्रेसन थिएटरमा लगिएकी थिइन् । आकाशले मृत्यु साँझ ७ बजे भएको र अस्पतालले राति ९ बजे मात्र सूचना दिएको आरोप लगाए ।
अस्पताल सञ्चालक डा. अशोक अधिकारीले पनि शल्यक्रिया अघि गरिएको जाँचमा बिरामीको अवस्था सामान्य रहेको बताए । उनले भने, “पाठेघरको अप्रेसनको लागि जाँच गर्दा सबै ठिक थियो । अप्रेसन अघि दिइएका दुई–तीन इन्जेक्सनले बिरामीको बीपी कम भयो र तुरुन्त आईसीयूमा लगिए पनि ज्यान बचाउन सकिएन । केही बिरामीमा औषधि कारण एलर्जी हुनसक्छ, त्यसैले लापरबाही भन्न नमिल्ने अवस्था थियो ।”
शल्यक्रियामा एनेस्थेसिया डा. रोशन साह र प्रसूति रोग विशेषज्ञ डा. सुरेन्द्र कर्णसहितको टोली रहेको थियो ।
आफन्तजनले शव बुझ्न अस्वीकार गरेका छन् र घटनाको छानबिन गरी दोषी चिकित्सकसहित अस्पतालमाथि कारबाहीको माग गर्दै क्षतिपूर्ति चाहेका छन् । आक्रोशित आफन्तले अस्पताल तोडफोड गर्न थालेपछि प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएको धनुषा प्रहरी प्रवक्ता डिएपी गणेश बमले जानकारी दिए ।
घटनापछि मृतकका आफन्तले जिल्ला प्रहरी कार्यालय धनुषामा उजुरी दिई घटनाको छानबिन र दोषीमाथि कारबाहीको माग गरेका छन् ।



कागजपत्र |
