
सर्लाही पुगेर गगनले भने– मधेशका मुद्दा समाधान गर्न आएको हुँ
सर्लाही– नेपाली कांग्रेसका सभापति गगन थापाले मधेशप्रति आफ्नो प्रतिबद्धता दोहोर्याएका छन्। आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि सर्लाही–४ बाट उम्मेदवारी दिएपछि सोमबार निर्वाचन क्षेत्रमा पुगेका थापाले सम्बोधन गर्दै मधेशले लोकतान्त्रिक आन्दोलनमा दिएको योगदान र बलिदानको सम्मान हुन नसकेको भन्दै त्यसका कारण र समाधान खोज्न आफू मधेश आएको बताए।
सभापति थापाले आफूले सबैभन्दा धेरै संगत गरेको नेता प्रदीप गिरी रहेको स्मरण गर्दै मधेश बुझ्ने चेतना उनैबाट प्राप्त भएको बताए। ‘प्रदीप गिरीले मलाई मधेश बुझ्न सिकाउनुभयो। जबसम्म म स्वयं मधेशमा गएर समर्पित हुँदिनँ र मधेशलाई आफूभित्र ल्याउँदिनँ, तबसम्म म पूर्ण नेपाली बन्न सक्दिनँ भन्ने बोध उहाँबाटै पाएँ,’ उनले भने। यही विश्वासका साथ आफू मधेश आएको थापाको भनाइ थियो।
मधेशमा अपार सम्भावना हुँदाहुँदै पनि यहाँका युवाहरू रोजगारीका लागि विदेशिनु परेको यथार्थप्रति चिन्ता व्यक्त गर्दै उनले यसको उत्तर खोज्न र समाधान निकाल्न आफू आएको बताए।
‘कुनै समय देशभर गणित र विज्ञान पढाउने शिक्षक मधेशबाटै जानुपर्थ्यो। त्यही मधेश आज किन कमजोर बन्यो भन्ने प्रश्नको उत्तर खोज्न म यहाँ छु,’ थापाले भने।
सभापति थापाले आफू चुनावी नारा बाँड्न नभई नेपाली कांग्रेसको जिम्मेवार नेतृत्वमा रहेर सर्लाहीका मुद्दालाई विशेष प्राथमिकताका साथ अघि बढाउन आएको स्पष्ट पारे। ‘मसँग कार्यक्रम र योजनाहरू छन्, समयक्रममा तपाईंहरूसँग साझा गर्छु,’ उनले भने।



कागजपत्र |
