पैसा बाँडेको उजुरीपछि शक्ति बस्नेतसँग आयोगले माग्याे स्पष्टीकरण


जाजरकोट- निर्वाचन आयोगले नेपाल कम्युनिष्ट पार्टीका उम्मेदवार शक्तिबहादुर बस्नेतसँग स्पष्टीकरण सोधेको छ। आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि मनोनयन दर्ता गर्ने क्रममा बस्नेतले जाजरकोटमा पैसा बाँडेको भन्दै आयोगमा उजुरी परेको थियो। सोही उजुरीका आधारमा आयोगले उनीसँग स्पष्टीकरण माग गरेको हो।

आयोगका अनुसार पाँच सय रुपैयाँका नोट बाँडिरहेको श्रव्यदृश्य सामग्रीसहित उजुरी परेपछि बस्नेतले निर्वाचन आचारसंहिता उल्लंघन किन नगरेको हो भन्ने विषयमा तीन दिनभित्र कारणसहित स्पष्टीकरण पेश गर्न निर्देशन दिइएको थियो।

उक्त निर्देशनअनुसार बस्नेतले आयोगमा आफ्नो जवाफ बुझाइसकेका छन्। आयोगलाई दिएको स्पष्टीकरणमा उनले मनोनयनका क्रममा अन्य पार्टीका प्रतिनिधिहरू दमाहा बाजासहित उपस्थित भएको उल्लेख गरेका छन्।

बस्नेतले जाजरकोटमा खुसियाली तथा शुभकार्यका अवसरमा दमाहा बजाउने परम्परा रहेको र मुख्य व्यक्तिले स्वेच्छाले केही रकम दिने सामाजिक चलन रहेको दाबी गरेका छन्। “रकम नदिँदा दमाहा बजाउनेहरू रिसाउने र त्यसलाई अशुभ मान्ने प्रचलन छ,” भन्दै उनले सामाजिक मान्यताअनुसार केही रकम दिएको बताए।

उनले सो रकम मतदाता प्रभावित पार्ने उद्देश्यले नभई स्थानीय परम्परा अनुसार मात्र दिएको स्पष्ट पारेका छन्। आयोगले बस्नेतको स्पष्टीकरणमाथि अध्ययन गरी आवश्यक निर्णय लिने जनाएको छ।

प्रतिक्रिया