
राष्ट्रियसभा निर्वाचन: बागमतीमा कांग्रेस–एमाले गठबन्धनले जित्यो
मकवानपुर – राष्ट्रियसभा सदस्य निर्वाचनमा बागमती प्रदेशतर्फका दुई सिटमा कांग्रेस–एमाले गठबन्धनका उम्मेदवार विजयी भएका छन्। महिलातर्फ गीता देवकोटा र अन्य समूहमा डा. प्रेमप्रसाद दंगाल निर्वाचित भएका हुन्।
नेकपा एमाले र नेपाली कांग्रेसको गठबन्धनबाट उम्मेदवार बनेका देवकोटा र दंगालले नेकपाका उम्मेदवारलाई पराजित गर्दै राष्ट्रियसभामा प्रवेश गरेका छन्।
महिला क्लस्टरमा नेपाली कांग्रेसकी उम्मेदवार गीता देवकोटाले कुल ६ हजार २३९ मतभार प्राप्त गरी विजय हासिल गरिन्। उनले प्रदेश सभातर्फ ६० मत र स्थानीय तहतर्फ १६१ मत पाएकी हुन्। उनकी निकटतम प्रतिस्पर्धी नेकपाकी सरोजकुमारी झाले २ हजार ५२२ मतभार प्राप्त गरिन्। झाले प्रदेश सभातर्फ २५ र स्थानीय तहतर्फ ६३ मत पाएकी थिइन्। सोही क्लस्टरमा नेमकिपाकी कविता महर्जनले १९७ मतभार प्राप्त गरिन्, जसमा प्रदेश सभातर्फ ३ र स्थानीय तहतर्फ २ मत रहेको छ।
प्रदेश सभातर्फ कुल ८९ मतदातामध्ये ८८ मत सदर भएको थियो भने स्थानीय तहतर्फ २२९ मतमध्ये २२६ मत सदर र ३ मत बदर भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।
यस्तै, अन्य क्लस्टरतर्फ कांग्रेस–एमाले गठबन्धनका उम्मेदवार डा. प्रेमप्रसाद दंगालले ६ हजार २०५ मतभार प्राप्त गर्दै विजयी भए। उनले प्रदेश सभातर्फ ५९ मत र स्थानीय तहतर्फ १६२ मत पाएका छन्। उनका निकटतम प्रतिस्पर्धी नेकपाका प्रेमप्रसाद सापकोटाले २ हजार ५४१ मतभार प्राप्त गरे। सापकोटाले प्रदेश सभातर्फ २५ र स्थानीय तहतर्फ ६४ मत पाए। नेमकिपाका उम्मेदवार विक्रम ढुकुछुले १९७ मतभार प्राप्त गरे।



कागजपत्र |
