
कांग्रेस नेता शाहीले पनि लिए उम्मेदवारी फिर्ता
काठमाडौं- नेपाली कांग्रेसका नेता भूपेन्द्रजंग शाहीले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन्। कालिकोटबाट प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि पार्टीले टिकट नदिएपछि स्वतन्त्र उम्मेदवारी दिएका शाहीले आज निर्वाचन आयोग पुगेर औपचारिक रूपमा उम्मेदवारी फिर्ता लिएका हुन्।
कांग्रेसको विशेष महाधिवेशनको विपक्षमा उभिएका शाहीलाई रोकेर विशेष पक्षमा खुलेको पार्टी केन्द्रीय नेतृत्वले कालिकोटमा हर्षबहादुर बमलाई आधिकारिक उम्मेदवार बनाएको थियो। त्यसपछि शाहीले असन्तुष्टि जनाउँदै स्वतन्त्र उम्मेदवारी दिएका थिए।
शाही २०७० र २०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा प्रतिस्पर्धा गरिसकेका नेता हुन्। नेविसंघका पूर्वमहासचिवसमेत रहेका शाहीले उम्मेदवारी फिर्तापछि पार्टी निर्णय मान्ने बताएका छन्। “पार्टीको निर्देशनअनुसार अब पार्टीकै उम्मेदवार हर्षबहादुरजीलाई जिताउन म फिल्डमा खटिन्छु,” उनले भने, “अनेक असहमतिका बीच पनि पार्टी हितलाई प्राथमिकता दिँदै उम्मेदवारी फिर्ता लिएको हुँ।”



कागजपत्र |
