
राष्ट्रिय सभाबाट राजीनामा दिए पनि बामदेवले लडेनन् चुनाव
काठमाडौं- प्रतिनिधिसभा सदस्यको चुनाव लड्ने तयारीका साथ राष्ट्रिय सभा सदस्यबाट राजीनामा दिएका बामदेव गौतम अन्ततः चुनावी प्रतिस्पर्धाबाट बाहिरिएका छन्।
नेपाली कम्युनिस्ट पार्टीबाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार बन्ने चर्चा चलिरहेका बेला गौतमले यसपटक चुनाव नलड्ने निर्णय गरेको जानकारी दिएका हुन्।
अनलाइनखबरसँग कुरा गर्दै गौतमले बर्दियाका दुवै निर्वाचन क्षेत्रमा ब्राह्मण समुदायका उम्मेदवार पर्ने अवस्था बनेपछि आफू पछि हट्ने निर्णय गरेको बताए। उनका अनुसार बर्दिया–१ र बर्दिया–२ मध्ये एक क्षेत्रमा थारु समुदायबाट उम्मेदवार उठाउनुपर्ने धारणा राख्दै आफूले चुनाव नलड्ने निष्कर्ष निकालेका हुन्।
पार्टीले बर्दिया–१ बाट विष्णु प्रसाद थारु र बर्दिया–२ बाट सुरेश पन्तलाई उम्मेदवार बनाइसकेको छ।
आफू सधैं जनताको भावना र मनसायलाई प्राथमिकता दिने नेता भएको उल्लेख गर्दै गौतमले यसपटक पनि जनभावनाको कदर गर्दै पछि हटेको बताए।



कागजपत्र |
