
कुन्दन भन्छन्, ‘पार्टीले मैदानमा खटाए पनि र धैर्यताको परिक्षा लिए पनि तयार छु’
काठमाडौं – नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम बागमतीका पूर्वमन्त्री कुन्दनराज काफ्लेले आगामी निर्वाचनमा पार्टी एकढिक्का भएर अघि बढ्नुपर्ने बताएका छन् ।
पार्टीभित्र देखिएको विवादबारे सामाजिक सञ्जालमा लेख्दै बागमती प्रदेश सभा सदस्य समेत रहेका काफ्लेले यस्तो बताएका हुन् ।
उनले राजनीति सधैँ सिधा रेखामा नहिँड्ने आफूले बुझेको र सधैँ कांग्रेसको सिपाही रहेको बताउँदै आफू कतै नभाग्ने बताए।
उनले भनेका छन्- ‘म कांग्रेसको सिपाही हुँ, कतै भाग्दिनँ । राजनीति सरल रेखामा हिँड्दैन भन्ने’ वाक्य मैले पहिलो–पटक कसैबाट सुनेको हुँ भने, त्यो अग्रजको नाम हो-गगनकुमार थापा। विद्यार्थी राजनीतिका दुःखसुख, नोकझोक र त्यतिबेला नै दलभित्रको अन्तसंघर्षका अनेक साक्षी बसिरहँदा, छेउकुनाबाट हेलिएर कुनै न कुनै आन्दोलनको अग्रभागमा भइरहँदा एक दिन मलाई श्रद्धेय गिरिजाबाबुले भनेको याद छ- तिमीहरु जस्तो नौजवानहरु लामो राजनीति गर्नुपर्छ। भ्यालुजका आधारमा आफू हिँडिरहनुपर्छ। लागिरहनुपर्छ ।’
उनी अगाडी भन्छन्, ‘मलाई पार्टीले– एउटा सिपाहीका रुपमा मैदानमा खटाउँछ भने पनि म तयार छु। र, अहिले त्याग गर भनेर मेरो धैर्यताको परीक्षा लिन्छ भने पनि म तयार छु।’
काफ्लेले सिंगो र सवल कांग्रेस बनाउनु आफूहरुको सपना मात्र नभएर अहिलेको अपरिहार्यता समेत रहेको बताए ।



कागजपत्र |
