काठमाडौंका यी स्थानमा आज जाँदैछ ३ घण्टा बिजुली


काठमाडौँ – नेपाल विद्युत् प्राधिकरणले शनिबार काठमाडौँका विभिन्न स्थानमा बिजुली कटौती गर्ने भएको छ। प्राधिकरणले महाराजगञ्ज वितरण केन्द्र मातहतका विभिन्न स्थानमा बिजुली कटौती गर्न लागेको हो ।

काठमाडौँ उपत्यका मध्य तथा उत्तर वितरण प्रणाली सुदृढीकरण आयोजनाले राष्ट्रपति भवन शीतल निवासको वितरण प्रणाली भूमिगत गर्ने कार्य गरिरहेको छ । यस्तै, भूमिगतकार्य सम्पन्न भइसकेका केबलमा प्राविधिक उपकरण जडानका लागि बिजुली कटौती हुन लागेको हो।

प्राधिकरणका अनुसार पानीपोखरी फिडर साङ्ग्रिला होटल अगाडि, लाजिम्पाट, पानी पोखरीका विभिन्न क्षेत्र, महाराजगञ्ज, त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल आसपासका क्षेत्रमा आज बिहान ११ बजेदेखि अपराह्न २ बजेसम्म बिजुली कटौती हुनेछ ।

यस्तै, राष्ट्रपति भवन, नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो र नेपाल प्रहरी अस्पताल आसपासका क्षेत्रमा पनि बिहान ११ बजेदेखि अपराह्न २ बजेसम्म बिजुली कटौती हुनेछ।

सूचना अनुसार बालुवाटार, चुनदेवी, पञ्चकन्या आसपासका क्षेत्रसमेतमा सोही समयसम्म बिजुली कटौती हुनेछ । तोकिएको कार्य निर्धारित समय अगावै सम्पन्न भएको खण्डमा त्यसभन्दा पहिले नै बिजुली आपूर्ति हुन सक्ने प्राधिकरणले जनाएको छ।

प्रतिक्रिया