
सुतेकै ओच्छ्यानमा हातखुट्टा बाँधेको अवस्थामा मृत भेटिइन् सुकमाया
चितवन – रत्ननगर नगरपालिका–४ मा महिलाको विभत्स हत्या भएको छ । ६८ वर्षीया सुकमाया देवी तामाङको शुक्रबार राति हत्या भएको चितवन प्रहरीले जनाएको छ ।
घरको तेस्रो तलामा एक्लै बस्दै आएकी तामाङको सुतेकै ओच्छ्यानमा हातखुट्टा बाँधिएको अवस्थामा शनिबार दिउँसो प्रहरीले भेटेको हो । इलाका प्रहरी कार्यालय रत्ननगरका प्रमुख डिएसपी सुवास भट्टका अनुसार लुट्ने प्रयोजनका लागि गएकाले बाँधेर श्वासप्रश्वास रोकेर हत्या गरेको हुनसक्ने प्रारम्भिक अनुमान गरिएको छ ।
तामाङको कानमा लगाइएको सुनको मुन्द्रा, औँठी, बालालगायतका गहना लुटिएको प्रारम्भिक छानबिनमा प्रहरीले पाएको छ ।
उनका दुई छोरी र एक छोरा छन् । प्रारम्भिक अवस्थामा लुटपाटका लागि हत्या गरिएजस्तो देखिए पनि महिलाप्रति रिसइबी पनि हुनसक्ने अनुमान गरेर प्रहरीले अनुसन्धान थालेको जनाएको छ ।



कागजपत्र |
